अष्टलक्ष्मीलाई ओलीको प्रश्न : फेरि पार्टी फुटाउन किन ल्याउने माधव नेपाललाई ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको आवश्यकता अब पार्टीलाई नरहेको प्रष्ट पारेका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा आउनुस् भन्ने नेतालाई नै प्रश्न गरे ।

ओलीभन्दा अगाडी सम्बोधन गरेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी थिइन् । नेता नेपाल आफूहरुको नेता भएको, एमाले बनाउन जीवन दिएको भन्दै उनले भनेकी थिइन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईको भूमिका आवश्यक छ ।’

अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा काम नभएको बताए । उनले भने, ‘पार्टीभित्रै भएका पार्टी विरोधी तत्वहरुलाई एमालेमा ठाउँ छैन । माधव कमरेड आउनुस् भन्ने गरेको पनि सुनेको छु । के उहाँलाई पार्टी फुटाउन फेरि ल्याउने ?’

माधव नेपाल एमालेमा छउन्जेल पार्टीमा गुटबन्दी वाहेक केही नभएको ओलीको भनाइ थियो । साथै पार्टी सरकारमा हुँदा माधव नेपाल केही नबोलेको तर रोस्ट्रममा उभिपछि गीत गाएको भन्दै अध्यक्ष ओलीले व्यंग्य गरेका थिए । यस्तै माधव नेपाल इगोले चल्ने नेता भएको उनको आरोप थियो ।

‘उहाँ छउन्जेल गुटबन्दी बाहेक केही भएन । माधव कमरेडले पार्टी सरकारमा हुँदा एक शब्द पनि बोलेनन् । जहिले पनि रोस्टममा उभिएपछि गीत गाए । कम्युनिष्टको दुईतिहाइ सरकार छ अनि डुंगा डुब्न लाग्यो रे’ उनले भने ।

नेता नेपाललाई लक्षित गर्दै उनले भने ‘पार्टी सिध्याउन खोजिएको थियो । तर सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठेर पार्टी भत्काउन दिदैनौँ भनेर पार्टीको रक्षामा उभिएकाले पार्टी जहाँको त्यहीँ खडा छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार