फ्रान्समा चार हप्ताका लागि कडा लकडाउनको घोषणा

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा शनिबारदेखि लागू हुनेगरी चार हप्ताका लागि कडा लकडाउन घोषणा गरिएको छ । बेलायती स्वरूपको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि बुधबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोंले कडा लकडाउन घोषणा गरेका हुन् ।

राष्ट्रपति म्याक्रोंले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने बताए । साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ । संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ । शुक्रबार पर्ने महान पर्व इस्टर मनाउनका लागि भने मानिसहरुलाई छुट दिइएको छ ।

राष्ट्रपतिको सम्बोधनका अनुसार यसअघि खुला रहेका नर्सरी, स्कुल, कलेज र उच्च विद्यालयहरू तीन हप्ताका लागि बन्द रहने छन् । विश्वविद्यालयका विद्यार्थी भने हप्तामा एक दिन मात्रै कक्षामा प्रत्यक्ष सरिक हुन पाउने व्यवस्था गरिएको छ । लकडाउनका बेला आफ्ना बालबालिका घरैमा राख्न बाध्य हुने कर्मचारीहरुका लागि सहयोगीको व्यवस्था गरिनेछ ।

कोरोना भाइरसको महामारीले संक्रमितको संख्या अस्पतालहरुले धान्नै नसक्ने देखिएपछि राष्ट्रपतिले स्वास्थ्यकर्मीहरुलाईसमेत सहज हुनेगरी सुविधासम्पन्न १० हजार बेड थप गरिने बताएका छन् । कोरोना भाइरसको संक्रमणले हालसम्म फ्रान्समा ९५ हजारको ज्यान लिइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार