टिचिङमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण

नेपालमा पहिलो पटक १ वर्षभन्दा कम उमेरका बच्चामा कलेजो प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगंजमा शनिबार राति ११ महिनाका एक शिशुमा कलेजो प्रत्यारोपण गरिएको हो ।

कलेजो प्रत्यारोपणसर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले यो प्रत्यारोपण गरेको हो । डा भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो । डाक्टर भण्डारी र उनको टिमले २०७६ जेठमा त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण राति १२ बजे सकिएको थियो ।

काभ्रे घर भएका ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा भण्डारीले बताए । ती बच्चाको जन्मदेखि नै कलेजोमा समस्या थियो । अहिले बाबु र छोराकै स्वास्थ्य सामान्य रहेको डाक्टर भण्डारीले बताए।

बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहयोग मागेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा भण्डारीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार