बालुवाटार बैठकपछि कांग्रेसले भन्यो- छलफल सकारात्मक ढंगले अगाडि बढेको छ

नेपाली कांग्रेसले सदनको जारी गतिरोध हटाउने विषयमा बालुवाटारमा भएको छलफल सकारात्मक भएको जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टिओआर टुंग्याउन बसेको बैठक सकारात्मक भएपनि कुरा नटुंगिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘छलफल सकारात्मक छ । छानबिन समिति बनाउनेतर्फ नै बैठक गइरहेको छ । व्यक्ति वा सहकारीभन्दा पनि मूलभूत जे कुरा उठेको छ त्यो कुरा हुनुपर्‍यो भन्ने हाम्रो अडान हो,’ उनले भने । उनले सहकारीमा लाखौं बचतकर्ताको करोडौं रकम अपचलन भएको र निजी कम्पनीमासमेत रकम अपचलन भएकाले त्यसमाथि छानबिन हुनुपर्ने बताए ।

‘सहकारीको अर्बौ रकम अपचलन भएको छ । उक्त रकम निजी कम्पनीमा गएको छ । गोरखा मिडियामा आएको छ । गोरखा मिडियाका सञ्चालक नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ । त्यसमाथि छानि गरौं भनेका हौं । अब भाषा के राख्ने हो त्यो मिलाऔं,’ उनले भने ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार