सहकारी ठगी प्रकरण: दिपेश पुनलाई धरौटीमा छाड्न अदालतको आदेश

सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा पक्राउ परेका पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश भएको हो ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

दिपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका महासचिव हुन् । उनी सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् ।

साथै सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । अदालतमा उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार