बेंग्लोरमाथि राजस्थानको सानदार जित, कोहलीको शतक काम लागेन

विराट कोहलीले शतक प्रहार गरे पनि उनको टिम रोयल च्यालेञ्जर्स बैंगलुरू पराजित भएको छ ।

गएराति सवाइ मानसिंह स्टेडियम जयपुरमा बैंगलुरू राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको हो ।

कोहलीको शतकमा बैंगलुरूले राजस्थानलाई १८४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै पार गरेको हो ।

राजस्थानका लागि जोश बटलरले शतक पूरा गरे । उनी ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै १०० रन बनाएर नट आउट रहे ।

कप्तान सन्जु सामसनले ४२ बलमा ८ चौका र २ छक्काको मद्दतले ६९ रनको योगदान गरे ।

ओपनर यशश्वी जयसवाल शून्य रनमा आउट हुँदा रियान पराग ४ र ध्रुव जुरेल २ रन बनाएर आउट भए । शिम्रोन हेटमेयर ११ रन बनाएर नट आउट रहे ।

बलिङतर्फ बैंगलुरूका रिस टोप्लेले २ तथा यश दयाल र मोहम्मद सिराजले १/१ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको बैंगलुरूले ३ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

विराट कोहली ७२ बलमा १२ चौका र ४ छक्का प्रहार गरी ११३ रन बनाएर नट आउट रहे । अर्का ओपनर तथा कप्तान फाफ डु प्लेसिसले ३३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाए । अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ राजस्थानका युजवेन्द्र चाहलले २ र नन्द्रे बर्गरले १ विकेट लिए ।

चार खेलमा चारै खेल जितेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ। ५ खेल खेलेकोमा १ खेलमात्रै जितेको बैंगलुरू आठौं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार