मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको संख्या २८.९ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै भारतीय

काठमाडौं । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७ सय ४१ ले वृद्धि भएको हो । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका छन् ।

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। भारतबाट सो अवधिमा ३० हजार ६ सय ९८ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ ।

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७ सय ७३ र बेलायतबाट ७ हजार २ सय ४१ जना, श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनीबाट ५ हजार २ सय ५५, थाइल्याण्डबाट ४ हजार ३ सय ४५, फ्रान्सबाट ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार १ सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क) बाट ४० हजार ७ सय २७, एसिया (अन्य)बाट २८ हजार ६ सय ४८, युरोपबाट २७ हजार ५ सय ८२, ओसनियाबाट ४ हजार ७ सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६ सय १४ जना पर्यटक नेपाल आएका छन्।

यस वर्षको जनवरीमा ७९ हजार १ सय र फेब्रुअरीमा ९७ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२३ को पहिलो ३ महिनामा २ लाख २७ हजार ७ सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो ३ महिनामा ३ लाख ४ हजार ६ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार