बागमतीको पानी मेलम्ची परियोजनामा हाल्दा स्थानीय मारमा परेका छौँ : वडाध्यक्ष श्रेष्ठ

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको भूभागमध्ये ६७ प्रतिशतभन्दा वडा नम्बर १ मा पर्छ । वडा कार्यालयबाट मूलखर्क पुग्न ३ किलोमिटर, ओख्रेनीसम्म पुग्न ७ किलोमिटर र देउराली पुग्न ११ किलोमिटर पार गर्नुपर्छ । भूगोलका हिसाबले यो वडा नुवाकोट र सिन्धुपाल्चोकसँग जोडिएको छ । हिउँदमा बागमती नदीमा पानी बगाउनका लागि बनाइएका ठुला पोखरी (ड्याम) पनि यही वडामा पर्छन् । जसका कारण यो वडा आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थलमा पर्छ । धापमा ड्याम बनेपछि एकै महिनामा १३ हजारसम्म आन्तरिक पर्यटक आवागमन भएको वडाध्यक्ष द्वारिका श्रेष्ठले बताए ।

पर्यटकीय दृष्टिले हेर्ने हो भने नेपालको पहिलो जलविद्युत् गृह, मेलम्ची खानेपानी आयोजनाको कार्यालय यहीँ वडामा छन् ।
गोकर्णेश्वर नगरपालिका नै धार्मिक स्थल भएको नगर हो । वडा नम्बर एकमा पनि धेरै धार्मिक पीठ छन् । सुन्दरीमाई मन्दिर, स्यारमति महादेव, नेपालका चारबहारह क्षेत्रमध्ये स्वेतबराह यहीँ पर्छन् । साउनमा पशुपतिनाथ मन्दिरमा चढाउने जल पनि यहीबाट लगिन्छ । त्यस्तै बागद्वार पनि यही वडामा पर्छ । हरेक वर्ष बागद्वारसम्बन्धी मेला यही वडामा हुने गर्छ ।

वडा नम्बर –१ मा कृषिसम्बन्धी भएका काममध्ये मौरी पालन प्रभावकारी भएको वडाध्यक्ष द्वारिका श्रेष्ठले बताए । वडाले कृषकलाई तालिम र मौरीको घार दिएको भन्दै उनले सोबाट अहिले अहिले कृषकले राम्रो आम्दानी गरिरहेको बताए । ‘वडाले गरेका विभिन्न काममध्ये मौरी पालन हो । यस व्यवसायमा जोडिएका किसानले राम्रो आम्दानी गर्नुभएको छ । अहिले मह बेचेर भन्दा पनि मौरीको घार बेचेर किसानले राम्रो आम्दानी गर्नुभएको छ,’ उनले भने, ‘एउटा मौरीको घार बेच्दा १०,००० आउँदो रहेछ । मौरी पालनले तालिम दियो परिणाम खोइ भन्ने प्रश्नको उत्तर दिएको छ ।’

गोकर्णेश्वर नगरपालिकाले आव २०८०÷८१को नीतिमा कृषि पकेट क्षेत्रको घोषणा गरेको छ । जसमा वडा नम्बर १ पनि पर्छ । घना जङ्गल र कृषियोग्य जमिन र चिस्यानयोग्य जमिन भएकाले यस वडामा कृषिको राम्रो सम्भावना छ । वडाले च्याउ र कफी खेतीलाई प्राथमिकतामा राखेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार कफी खेती गर्न चाहनेहरूका लागि तालिमका लागि रकम पनि छुटाइएको छ ।

यस्तै वडाले बाख्रा पालनलाई प्रथमकितामा राखेर अघि बढेको श्रेष्ठले बताए । उनले भने, ‘हामीले बाख्रा पालनलाई प्राथमिकतामा राखेका छौँ । अन्य वडाको तुलनामा वडा नम्बर १ मा बाख्रा पालनलगायत कृषि क्षेत्रमा संलग्न कृषक समूह बढी छन् ।’
यस्तै, मकवानपुरकी विन्दुमाया तामाङले करिब ८५ रोपनी जग्गा भाडामा लिएर कृषि खेती गरी स्थानीयलाई रोजगारी दिएको बताउँदै उनले खुसीसमेत साटे । उनले भने, ‘कहाँबाट आएर हाम्रो वडामा कृषि व्यवसाय गर्नुभएको छ । हामीले गर्न सकेनौँ । हामीलाई नै रोजगार दिनुभएको छ ।’ वडाभन्दा बाहिर आएका एक व्यवसायीले ट्राउट माछा पालन गरिरहेको पनि उनले बताए ।

गोकर्णेश्वर नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमध्ये बागद्वारा आधारभूत विद्यालय, इश्वरी आधारभूत विद्यालय, सुन्दरीजल विद्यालय, श्रीराम जानकी विद्यालयलगायत ५ वटा विद्यालय यही वडामा पर्छन् । गोकर्णेश्वर १ मुख्यतया: ग्रामीण भेग भएको वडा हो । वडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पार गरी कम्तीमा ३ देखि ११ किलोमिटरसम्म पार गरेपछि बस्तीमा पुगिन्छ । जसका कारण विगतमा स्थानीय विद्यालयमा अध्ययन गरेर पढाइ छाड्नेहरूको सङ्ख्या अधिक थियो । यही कुरालाई मध्यनजर गरेर इश्वरी विद्यालयमा अध्ययन गरेर ९ देखि १२ सम्म अध्ययन गर्नेहरूलाई निःशुल्क गाडीको सेवा उपलब्ध गराएका छन् । जसका कारण अहिले अध्ययनकै लागि एउटै वडामा भाडामा बस्नुपर्ने बाध्यता हटेको छ । वडाध्यक्ष उनले भने, ‘ओख्रेनी र मूलखर्कबाट बिहान कलेज र दिउँसो स्कुलमा गाडी आउने व्यवस्था मिलाएका छौँ । जसका कारण एउटै वडामा भाडामा बस्नुपर्ने बाध्यता हटेको छ । अहिले विद्यार्थीहरू बिहान विद्यालय आउँछन् । बेलुका घर पुग्छन् । बिहान बेलुका घरको काममा पनि सघाउँछन् ।’

यस्तै, वडा नम्बर १ ले मूलखर्क र आख्रेनीका विद्यालयका शिक्षकलाई असुविधा भत्ता भनेर ४÷४ हजार वडाको पहलमा व्यवस्था गरेको छ । वडाध्यक्ष द्वारिका श्रेष्ठ शिक्षा स्वास्थ्य, विकास निर्माण र धार्मिक कुरामा राजनीति हुनुहुँदैन भन्ने मान्यता राख्छन् । तर, अन्य कुरामा आफ्नो मान्यता कार्यान्वयन भए पनि शिक्षा क्षेत्रमा आफ्नो मान्यता तोडिने हो कि भन्ने चिन्ताले बेलाबेलमा आफूलाई सताउने गरेको उनी बताउँछन् । शिक्षा क्षेत्रको सुधारका लागि पाँच सरकारी विद्यालयलाई अनुदानस्वरुप वडाले १५ लाख छुट्टाएको उनले बताए ।

वडा नम्बर १ बागमती नदीको मुहान र चर्चित खानेपानी मेलम्ची परियोजनाको मुख्य कार्यालय रहेको स्थल हो । तर, यहाँका स्थानीयको धारामा हप्ताको दुई दिनभन्दा बढी दिन पानी नआउने गरेको अध्यक्ष श्रेष्ठले बताए । बरु मेलम्चीको पानीका नाममा बागमतीको पानी लगेर हाल्नाले वडावासी स्थानीय स्रोत साधनको प्रयोगको पहुँचबाट वञ्चित भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘मेलम्ची खानेपानी परियोजनाले मेलम्चीको नाममा बागमतीको पानी वितरण गरिरहेको छ । जसका कारण जङ्गलको फेदी र बागमती नदीको मुहानमा रहेका यसै वडाका बासिन्दा खानेपानीबाट वञ्चित छन् । उनले भने, ‘ मेलम्चीको पानी त हामीले खान पाएका छैनौँ । हाम्रो वडाको सहरी एरियामा खानेपानीको हाकार नै छ ।’

मेलम्चीको पानीका नाममा बागमतीको पानी वितरण गर्दा स्थानीय बासिन्दाले पानीको दुःख भोग्नुपरेको बताउँदै उनले बागमती नदीमा घाट पखाल्ने पानी नहुँदा स्थानीय वडा कार्यालय घेराउ गर्न आउने गरेको भन्दै दुखेसोसमेत गरे । ‘अहिले हेर्ने हो भने खोला बगिरहेको छैन । अहिले मेलम्ची भनेर बागमती नदीको पानी खुवाइएको छ । खोलामा पानी छैन । खानेपानी र खोलामा बग्ने पानीको विषयलाई लिएर स्थानीय बेलाबेलामा घेर्न आउँछन् । खोलामा दाह संस्कार गरेर घाट पखाल्ने पानी पनि छैन । जसका कारण हामी समस्यामा छौँ,’ उनले भने, ‘हामी खोलामा पानी बग्न दिऊँ वा पिउनका लागि पानी दिऊँ ।’

हिउँदमा बागमती नदीमा पानी बगाउने भनेर धाप ड्याम बनाए पनि कहिलेकाहीँ (शिवरात्रिलगायत पर्व) मात्र बगाउँदा बागमती सुक्खा रहेको उनको बताउँदै स्थानीय साधन स्रोतमा पहिलो प्राथमिकता स्थानीयकै हुने अधिकारबाट वडा नम्बर एका बासिन्दा वञ्चित भएको बताए । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १को स्वास्थ्य चौकी मूलखर्कमा छ । स्वास्थ्य चौकीको भवन निर्माण कार्य लगभग सकिनै लागेको छ । वडा नम्बर एकका बस्तीहरू टाढा टाढा भएकाले स्वास्थ्य चौकीबाट पाउने सुविधा एउटा बस्तीले मात्रै उपभोग गरेको हो कि भन्ने उनलाई लाग्छ । सोही भएर उनले ओख्रेनीमा पनि सामान्य औषधि वितरण गर्ने कार्यालय विस्तार गर्ने योजनामा छन् । ‘विद्यालयको भवनको एउटा कोठाबाट भए पनि औषधि वितरण गर्नुपर्छ भन्ने सोच बनाएको छु । भूगोलका हिसाबले हेर्ने हो भने कम्तीमा ४ वटा स्वास्थ्य चौकी आवश्यक पर्छ ।’

वडाध्यक्ष द्वारिका श्रेष्ठले आफू वडाध्यक्ष भएपछि यसअघि पाँच वर्षसम्म बजेट नपरेका ठाउँमा बजेटको व्यवस्थापन गरेको बताए ।
वडाले हरेक महिनाको अन्तिम दिन हरेक टोलमा गएर व्यक्तिगत घटना दर्ता लिन्छ । वडावासीलाई राज्यले दिने सेवा दिन र वडावासीलाई ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता नगर्दा लाग्ने जरिवानाबाट मुक्त गराउन पनि हरेक महिनाको अन्तिम शुक्रवार फिल्ड गएर व्यक्तिगत घटना दर्ता गर्ने गरेको उनले बताए । वडा नबर १ को जग्गालाई बैङ्क र सञ्चयकोषले धितोमा नराख्ने गरेको बताउँदै यो मानसिकता हटाउन नगरबाटै बैङ्क र सञ्चयकोषसँग समन्वय गरी अघि बढ्ने प्रक्रिया अघि बढाएको बताए ।

यस्तै, राष्ट्रिय निकुञ्जभित्रबाट वडा नम्बर १ का विभिन्न बस्तीमा आवतजावत गर्नुपर्ने भएकाले बाटो लगायत भौतिक पूर्वाधार गर्न असहज भइरहेको बताउँदै सङ्घ र प्रदेशसँग समन्वय गरी पूर्वाधार विकासका लागि बहुवर्षीय योजना अघि बढाएको बताए ।
ओख्रेनी जाने बाटोका लागि ५५ लाख र मूलखर्क जाने बाटो निर्माणका लागि २५ लाख बजेट र फल्चा निर्माण भएको बताए ।

भौतिक पूर्वाधारको क्षेत्रमा वडामा अन्तर्राष्ट्रिस्तरको कभर्ड हल निर्माणाधीन रहेको उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार