दोहा फोरममा सहभागी हुन परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिनलाई छुटाउन पनि पहल गर्ने

परराष्ट्रमन्त्री एनपी साउद कतारको राजधानी दोहा प्रस्थान गरेका छन् ।

दोहा फोरम–२०२३ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मन्त्री साउद शनिबार बिहान पौने ८ बजे कतार एयरलाइन्सको जहाजमार्फत् दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

दोहा फोरममा विभिन्न देशका नेता तथा सरकारी अधिकारी सहभागी हुँदैछन् । भ्रमणका क्रममा उनले कतारका समकक्षी तथा उच्च अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै कतारमा गाजामा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ कुरा उठाउने उनका स्वकीय सचिव दीपक जोशीले बताए ।

साउद दोहाबाटै मानव अधिकारसम्बन्धी कार्यक्रममा सहभागी हुन १२ डिसेम्बरमा जेनेभा प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार त्यहाँबाट मन्त्री साउद भूपरिवेष्ठित विकासोन्मुख देशहरूको मन्त्रीस्तरीय बैठकमा भाग लिन १३ डिसेम्बरमा अर्मेनियाको यरेभान जाने कार्यक्रम छ ।

उनी १६ डिसेम्बरमा स्वदेश फर्किने तय भएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार