ललितपुरको सानेपामा घरमा एक्लै बस्दै आएका भारतीय नागरिकको हत्या

ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो ।
दुई तले घरमा उनी एक्लै बस्दै आएका थिए। उनको घरमा काम गर्दै आएकी महिलाले बोलाउँदा नउठेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

ललितपुर प्रहरी परिसर प्रमुख किरण बज्राचार्यका अनुसार झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने देखिएको छ ।

मृतकको हालै खुट्टाको हड्डी भाँच्चिएर उपचार गराएका थिए। प्रहरीका अनुसार पारिकको टाउकोमा ठूलो चोट देखिन्छ भने नजिकै मार्तल पनि भेटिएको छ। शव रहेको ठाउँमा ठूलो मात्रामा रगत बगेको देखिन्छ।

कोठामा चोरी गर्ने उद्धेश्यले कसैले झ्यालबाट प्रवेश गरेर उनको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ । पारिकको कोठाबाट उनका केही सामान पनि चोरी भएको अनुसन्धानमा खुलेको छ ।

पारिक त्यस घरमा १०–१२ वर्षदेखि बस्दै आएका थिए। परिवारसहित बस्दै आएकामा छोरीको विवाह र श्रीमतीको मृत्युपछि उनी २–३ वर्षयता एक्लै बस्दै आएका थिए। उनी एट्लान्टिक इलेक्ट्रोनिक कम्पनीमा सेल्स म्यानेजरका रुपमा काम गर्दै आएका थिए।प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार