माओवादी पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताएका छन् । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै आज सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, “अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देशभर उत्साहपूर्ण ढङ्गले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु । ठुलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ ।”

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एक मात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने उनले विश्वास व्यक्त गरे । आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताए । सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरुवात गरिएको उनले बताए ।

भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको उनले बताए । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “बुढीगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको छ, कर्णाली चिसापानीजस्तो गेम चेन्जर आयोजना सुरुवात गरिएको छ ।” छिट्टै चीन भ्रमण जान लागेको बताउँदै नेपालको विकास र देशको उत्तरीक्षेत्रका नाका खोल्नेलगायतका एजेन्डा रहने जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार