जब भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाइदिए

कुनै पनि खेलमा हारेको टिमको खेलाडीलाई जितेको टीमको खेलाडीले मेडल लगाइदिएको दृश्य बिरलै देखिन्छ । हिजो नेपाल–भारतबीचको पहिलो एक दिवसीय क्रिकेट म्याचपछि यस्तै अनौठो दृश्य देखियो ।

श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेल भारतले १० विकेटले जितेको थिए । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल पराजित भए पनि नेपालले भारत विरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेको छ ।

हिजोको म्याचपछि नेपाली टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले आफ्ना खेलाडीहरूलाई लिएर भारतीय ड्रेसिङ रुममा छिरेका थिए । जहाँ कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए ।

त्यसक्रममा देखिएको अनौठो दृश्य के थियो भने भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई मेडल लगाइदिए । खासगरी कुनै पनि खेल जित्ने टिमका खेलाडीहरुलाई मेडल लगाइदिने चलन छ । भारतीय नागरिकसमेत रहेका नेपाली प्रशिक्षक देसाईले त्यहाँ फरक अभ्यास गरे ।

जहाँ देसाईले दुई देशका खेलाडीलाई घुलमिल गराउने क्रममा मेडललाई प्रयोग गरेका हुन् । भारतीय ड्रेसिङ रुममा प्रशिक्षक द्रविड, खेलाडीहरु विराट कोहली र हार्दिक पान्ड्यासहितले नेपाली खेलाडीलाई मेडल लगाइदिएका छन् ।

भारतविरुद्ध उत्कृष्ट खेलेका सोमपाल कामी, आशिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीले मेडल लगाइदिएका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतक र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रन मदतमा भारत विरुद्ध २३० रन बनाएको थियो । ओभर छोट्याउँदा पनि मध्यरातिसम्म चलेको खेलका क्रममा नेपालले दिएको २३१ रनको लक्ष्य भारतले ओभर छोट्याएको खेलमा बिनाक्षति पूरा गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार