‘हेल्लो सरकार’मा गुनासो टिपाउने क्रम बढ्यो, कस्ता छन् नागरिकका गुनासा?

सरकारले ‘हेल्लो सरकार’को २४ घण्टे सेवा सुरुवात गरेपछि नागरिकले फोन गरेर गुनासा टिपाउने क्रम बढ्न थालेको छ । कतिपय गुनासा कार्यान्वयन प्रक्रियामासमेत गएपछि यसप्रति नागरिकको विश्वाससमेत बढ्न थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरेर हेलो सरकारको शुभारम्भ गरेका थिए ।

सोमबार हेलो सरकारमा फोन गरेर ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेकी थिइन् ।

गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

हेलो सरकारमा फोनमार्फत गुनासो टिपाउँदा त्यसको सम्बोधन भएको पाइएपछि यसप्रति आम नागरिकको चासो र विश्वास बढेको सचिवालयले जनाएको छ ।

नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनेर जाँच गर्नसमेत फोन गर्ने गरेका छन् । हेलो सरकार सुरुआत गरेकोमा शुभकामना दिनका लागि पनि नागरिकले फोन गर्ने गरेका छन् ।

आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषयसम्बन्धी गुनासा दैनिकरूपमा बढ्दो क्रममा रहेका, सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यस्तै प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ ? जस्ता जानकारी माग्न पनि नागरिकले फोन गर्ने गरेका छन् ।

फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार