युरो कपको नकआउट चरण: वेल्स र डेनमार्क, अस्ट्रिया र इटालीबीच खेल हुँदै

युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल हुँदैछन् । शनिबार हुने दुई वटा खेलमा वेल्स र डेनमार्क तथा अस्ट्रिया र इटालीबीच खेल हुने भएको छ ।

नेदरल्यान्ड्सको आम्स्टर्डममा राति ९:४५ बजे वेल्स र डेनमार्कबीच पहिलो खेल हुँदेछ । समूह चरणमा वेल्सले पहिलो खेलमा स्विट्जरल्यान्ड्ससँग बराबरी खेलेको थियो । दोस्रो खेलमा टर्कीलाई पराजित गरेको वेल्स अन्तिम खेलमा इटालीसँग पराजित हुनुका बावजुद अन्तिम १६ मा पुग्यो ।

डेनमार्कले समूह चरणमा सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । अन्तिम खेलमा रसियालाई ४-१ गोलले पराजित गरेसँगै डेनमार्कको अन्तिम १६ मा स्थान पक्का भएको थियो ।

दुवै टिमले समूह चरणको कठिन परीक्षा पार गरिसकेका छन् । वेल्सले कठिन समूह पार गर्दा डेनमार्कले सुरुवाती दुईलाई बिर्साउने गरी तेस्रो खेलमा जित निकाल्यो । पहिलो खेलमा मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमै ढलेपछि डेनमार्कलाई मनोवैज्ञानिक रुपमा असर गरेको थियो । दुवै टिमका लागि अब अन्तिम आठमा पुग्नका लागि ठूलो अवसर अघि आएको छ ।

राति १२:४५ हुने दोस्रो खेलमा इटाली र अस्ट्रियाबीच लन्डनमा प्रतिस्पर्धा हुनेछ । इटालीले अस्ट्रियाविरुद्ध खेलका पछिल्ला १३ खेलमा हार बोहोरेको छैन । जारी प्रतियोगितामा समूहका तीनै खेलमा जित हात पारेको इटालीले एक गोल पनि खाएको छैन । यो बाहेक इटालीले पछिल्ला ३० अन्तर्राष्ट्रिय खेलमा अपराजित छ ।

पहिलो पटक अन्तिम १६ मा पुगेको अस्ट्रियाले इतिहास बनाइसकेको छ । यसअघि दुई पटक युरो कप खेल्दा अस्ट्रिया समूह चरणबाटै बाहिरिएको थियो । पछिल्ला ३० अन्तर्राष्ट्रिय खेलमा अपराजित इटाली उच्च फर्ममा छ । इटालीलले पछिल्ला ११ खेलमा लगातार जित निकलेको थियो । ती ११ वटै खेलमा इटालीले गोल पनि खाएको भने छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार