बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक

बागमती । भौतिक पूर्वाधारको अभावलगायत समस्या भोग्दै आएको हेटौँटास्थित बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन् ।

सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो बाल सुधार गृहमा तोकिएको भन्दा दोब्बर बालक आश्रित रहेका छन् । करिब ३५ जनाको क्षमता रहेको सो बाल सुधार गृहमा अहिले ६८ बालक आश्रित छन् ।

सुधार गृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका र फैसला भएकालाई त्यहाँ राख्नुपर्ने प्रावधान भए पनि बढी उमेरकालाई समेत राख्नुपर्ने बाध्यता रहेको सुधारगृहका निमित्त प्रमुख प्रदीप गौतमले जानकारी दिए ।

हाल यहाँ १४ वर्ष उमेर पुगेका बालकदेखि २२ वर्षसम्मकालाई राखिएको छ । “सामान्य लेखपढ गर्नेदेखि ११ कक्षासम्म पढ्नेलाई राखेका छौँ । मधेस र कोशी प्रदेशका बालसुधार गृहमा चाप बढेपछि हेटौँडा पठाउने गरिएको छ”, उनले भने । विकल्प नहुँदा क्षमताभन्दा बढी बालक राख्नु परेको गौतमको भनाइ छ ।

विसं २०७५ मा स्थापना भएको हेटौँडा बाल सुधार गृहमा बालकका लागि बस्ने, खाने, स्वास्थ्य उपचार, लत्ताकपडा, बाल सुधार गृहबाटै परीक्षा दिने तथा खेल्ने व्यवस्था छ ।

पुस्तकालयको समेत व्यवस्था छ । सुधार गृहमा करणी मुद्दाका ४२, डाँकाचोरी मुद्दाका आठ, सवारी ज्यान र कर्तव्य ज्यान मुद्दाका तीन-तीन, लागूऔषधका पाँच, चोरी मुद्दाका चार, शरीर बन्धक तथा अपहरण मुद्दाका एक बालक आश्रित रहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार