क्यूआर कोड, मोबाइल बैंकिङ कारोबार रकमको सीमा बढ्यो

वालेट–बैंक रकमान्तर सीमा बढ्यो

मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको हो । यसअघि दैनिक २ लाख रुपैयाँसम्मको मात्रै सीमा थियो ।

यस्तै, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन २ लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरेको छ ।

साथै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो ।

एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत राखिएको छ ।

अब ५ हजारसम्मको यस्तो कारोबारमा ५ रुपैयाँ, ५ देखि १० हजारसम्म कारोबारमा ८ रुपैयाँ र १० हजारमाथिको कारोबारमा १० रुपैयाँ सेवा शुल्क कायम गरिएको छ । यसअघि यस्तो शुल्क ५ देखि २० रुपैयाँसम्म थियो । एजेन्टमार्फत वालेटमा ५ हजारसम्म रकम लोड गर्न र झिक्दा ५ रुपैयाँ शुल्क काटिनेछ । ५ देखि १५ हजारसम्मका लागि १५ रुपैयाँ तथा १५ देखि २५ हजार रुपैयाँसम्मका लागि २५ रुपैयाँ शुल्क लाग्ने छ । वालेटबाट बैंकमा रकमान्तर गर्न १० रुपैयाँ शुल्क लाग्नेछ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराउने विभिन्न कार्डका बारेमा जानकारी गराई क्रेडिट, डेविट र प्रिपेड कार्डलगायतका विद्युतीय भुक्तानी कार्ड आफै छनौट गर्न पाउनेछन् । यस्तो कार्ड जारी गर्दा ग्राहकहरूसँग आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबारमा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर र कार्डबाट प्राप्त हुने अन्य सुविधालगायत विषय समेटिएको सूचनामूलक सामाग्री प्रदान गर्नुपर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार