कुलमानको प्राधिकरण यात्रा सकिदैं , नयाँ ठाउँ खोज्दै सरकार

विद्युत विकास विभागका महानिर्देशक सिंह सहितको चलखेल बढ्दो

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको म्याद सकिन २० दिन बाँकी छँदै मंगलबार उनको पुनर्नियुक्तिको हौवा चलाएर सामाजिक सञ्जालमा बधाईको ओइरो नै लाग्यो । भदौ २९ गतेसम्म प्राधिकरणको नेतृत्वमै रहने कुलमानका पक्षमा समयभन्दा पहिले नै गरीएको अनावश्यक प्रचारप्रसार गलत भएको भन्दै उनी आफैंले खण्डन गरीसकेका छन् । आफ्ना नाममा गलत आईडी बनाएर भ्रम फैलाइएको भन्दै घिसिङले आफ्नो आधिकारीक फेसबुक अकाउण्टमार्फत सूचित गर्नुप-यो । तर जुन चर्चा कुलमान समर्थकका नाममा फेसबुक र ट्वीटरमा भाइरल बनेर फैलियो, त्यसले उल्टै उनको पुनर्नियुक्तिको सम्भावनामा नकारात्मक असर गर्ने देखिन्छ । ४ वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नियुक्त गरेका एमडी मुकेश काफ्लेलाई आधा कार्यकाल बाँकी छँदै आएको नयाँ सरकारले हटाएर प्रचण्डको रोजाईमा कुलमानलाई ल्याइएको थियो । तत्कालीन उर्जामन्त्री जनार्दन शर्मासंग सम्बन्ध सौहार्दपूर्ण बनाउन नसकेका कुलमानको अहिलेका उर्जामन्त्री वर्षमान पुनसंग पनि खासै राम्रो सम्बन्ध बन्न सकेन । लोडसेडिङबाट देशलाई मुक्त गराएको जस आफू एक्लैले लिन खोजेको , कतिपय विषयमा मन्त्रीसंग सरसल्लाहभन्दा पनि आफ्नै स्वविवेकले चल्न खोजेको आरोप उनीमाथि छ । जनार्दन शर्माका पालामा प्रचण्डले रुचाइएका घिसिङ आजको दिनमा त्यो अवस्थामा कायम रहन सकेका छैनन् । पार्टीभित्र प्रचण्डलाई हरहमेशा जटील परिस्थितिमा साथ दिंदै आएका उर्जामन्त्रीले नरुचाएपछि प्रचण्ड पनि उनको बचाउमा नलाग्ने पक्का छ । आफूले अघि सारेका विद्युत प्रशारण लाईन बिस्तार तथा भारत र बंगलादेशमा विद्युत निर्यातका लागि कुलमान आफैं अर्को एक कार्यकाल प्राधिकरण बस्न चाहन्छन् । तर जसले विगतमा नियुक्त गरेर गुन लगायो, उनीहरुकै चित्त दुखाएपछि उनको निरन्तरतामा गम्भीर प्रश्न चिन्ह खडा भएको हो । उर्जा मन्त्रालय निकट श्रोतका अनुसार कुलमानको पदावधि नथपिने निश्चित भैसकेको छ ।

को को छन् दौडमा ?
विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहसहित प्राधिकरणकै वरिष्ठ अधिकृतहरुको चर्चा भावी प्रवन्ध निर्देशकका रुपमा चल्न थालेको छ । विभागमा छँदा आफूसंग राम्रो समन्वयमा काम गरेको भन्दै उर्जामन्त्री पुनले रुचाएका उनलाई राष्ट्रपतिको समेत आशीर्वाद रहेको बताइन्छ । विभागमा चार वर्षे कार्यकाल पूरा गरेका सिंह अहिले प्राधिकरणको नेतृत्वमा जान पनि मन्त्री र उच्च राजनीतिक नेतृत्वलाई खुसी पार्ने मामलामा अगाडि रहेको विभागकै एक वरिष्ठ कर्मचारीले बताए । उनले विभागमा महानिर्देशकका रुपमा ४ वर्ष बिताइसकेका छन् । यस्तै प्राधिकरणको प्रवन्ध निर्देशकको दौडमा प्राधिकरणको इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य पनि छन ्। उनलाई सत्तारुढ नैकपा भित्रकै पूर्व एमाले खेमाको समर्थन छ । विद्युत प्रसारण लाइनका विषयमा राम्रो  विज्ञता भएका शाक्य पनि प्रतिस्पर्धामा बलियो मानिन्छन् । त्यस्तै प्राधिकरणकै कर्मचारीभित्रबाट भावी नेतृत्वमा छवि पोखरेलको नाम पनि चर्चामा छ । पूर्व माओवादी निकट पोखरेलका लागि अध्यक्ष प्रचण्डसामू प्रस्ताव गैसकेको श्रोतको दावी छ । प्राधिकरणकै वरिष्ठ अधिकृतहरुमध्येबाट    वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख हरराज न्यौपाने पनि प्रवन्ध निर्देशकको दौडमा छन् । उनी प्राधिकरणका उपकार्यकारी निर्देशक छन् । प्राधिकरणको अनुभवकै आधारमा नेतृत्व दिने हो भने आफू सक्षम रहेको भन्दै पूर्व कर्मचारी शान्ति लक्ष्मी शाक्य पनि दौडमा छिन्।

मेरो दावी कायमै छ : मुकेशराज काफ्ले 
यसैबीच प्राधिकरणमा पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट आए पनि आधा कार्याकालमै गलहत्याईएका पूर्व प्रवन्ध निर्देशक मुकेश काफ्लेले आफूले जग बसालेको काम गरेर कुलमानले चर्चा बटुलेको बताए । अब कुलमान दोहोरिने सम्भावना नरहेको भन्दै उनले प्रवन्ध निर्देशकका लागि आफ्नो समेत दावी रहेको बताए । उनलाई राजनीतिक लाइन नमिलेपछि प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री  जनार्दन शर्माले हटाएका थिए । अहिले पनि आफूले काम गर्न सक्ने र त्यसका लागि प्रधानमन्त्री लगायतसंग कुराकानी भैरहेको काफ्ले बताँउछन् ।

कुलमानको अन्यत्रै ब्यवस्थापन
सबै नेताका आ–आफ्नै उम्मेद्वारहरु रहेको तथा उर्जा मन्त्रालय र सरकारको मूल नेतृत्व समेत प्रचारमुखी र एक्लै हिड्न खोजेको भन्दै कुलमानसंग खुसी नभएको अवस्थामा फेसबुक र ट्वीटरका लबिङमा मात्रै उनको निरन्तरता हुने देखिंदैन ।
सरकारभित्रै कुलमानको कार्यशैलीका प्रशंसक समेत भएपनि उनलाई अर्को कुनै संस्थान वा सरकारी निकायमा सुधारको जिम्मा दिनुपर्ने लाइन बलियो देखिन्छ । एकाथरीले घिसिङका लागि योजना आयोगको सदस्य पद उपयुक्त हुने बताएका छन् भने सत्तारुढ दलभित्रै उनलाई नेपाल बायुसेवा निगममा सुधारको जिम्मा दिनुपर्ने तर्क पनि बलियो रुपमा चलिरहेको छ । जे होस्, कुलमानको कार्यशैलीबाट रुष्ट भएका मात्रै हैन, उनको ब्यवस्थापकीय क्षमताबाट खुसी पक्षसमेत प्राधिकरणमै निरन्तरताको पक्षमा भने देखिंदैन । प्राधिकरणमा एक किसिमले जग बसिसकेको अवस्थामा अर्को सक्षम ब्यक्तिलाई त्यहाँ ल्याएर कुलमानलाई अन्यत्र जिम्मा दिनुपर्ने आवाज सत्तारुढ नेकपाभित्र बलियो बन्दै गएको छ । प्राधिकरणमा उनको उत्तराधिकारीका रुपमा को आउला र कुलमानको ब्यवस्थापकीय नेतृत्व क्षमताको उपयोग सरकारले कहाँ गराउला, त्यसका लागि भने अझै एक दुई हप्ता कुर्नैपर्ने हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार