बाँकेमा कोरोना संक्रमितका बिरामीहरु बढ्न थाले, सतर्कता अपनाउन आग्रह

बाँकेमा खुला सिमानाका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ५७ पुगेको छ । सीमाक्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

ती बिरामीमा विगतमा जस्तो डरलाग्दो अवस्था नभएको र सामान्य रुघाखोकीको लक्षण मात्रै देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको उनले बताए । भेरी अस्पताल नेपालगञ्जमा १६ जनाको पिसीआर परीक्षण गर्दा दुई र जमुनाहा नाकामा एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । अधिकांशले होम आइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

सोसँगै जिल्लामा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार १५४ पुगेको उक्त केन्द्रले जनाएको छ । बाँकेमा अहिलेसम्म २० हजार ७४३ कोरोना सङ्क्रमित निको भइसकेका र ३५४ जनाको मृत्यु भएको थियो । पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्नाका साथै स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार