हनुमाननगर कङ्कालिनी नगरपालिकाको प्रमुखमा जनमत पार्टीका उम्मेदवार विजयी

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको प्रमुखमा सिके राउत नेतृत्वको जनमत पार्टीले जित हात पारेको छ । जनमत पार्टीका उम्मेदवार विरेन्द्र माझी ६ हजार ४०७ मत सहित निर्वाचित भएका छन् । कतिपयले यो परिणामलाई मधेसमा जनमत पार्टीको लोकप्रियताको रुपमा पनि बुझेका छन् ।

नगरपालिकाका १० मध्ये २ वटा वडामात्र जितेको जनमत पार्टीले नगर प्रमुखमा जित हासिल गर्नु, सोही पार्टीबाट उपप्रमुखमा हार्नु भने आफैमा अनौठो हो । २०७४ सालको निर्वाचनमा यो पालिकाको प्रमुख र उपप्रमुख दुवै पद तत्कालीन राजपा नेपालले जितेको थियो ।

त्यतिबेला प्रमुखमा राजपा नेपालका शैलेशकुमार साह र उपप्रमुखमा पनि राजपाकै सरितादेवी यादव सिपालिया निर्वाचित भएकी थिइन् । तत्कालीन संघीय समाजवादी र राजपा नेपालबीच एकता भइ जसपा नेपाल बनेपछि साह र यादव दुवै स्वाभाविक रुपमा जसपा नेपालमा आवद्ध भए । तर जसपा नेपाल विभाजन हुँदा तत्कालीन राजपाका कतिपय जनप्रतिनिधिहरु महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालमा गए पनि उनीहरु दुवै जसपामै रहे ।

स्थानीय तहको निर्वाचन २०७९ मा सो नगरपालिकाको प्रमुखमा जसपा नेपालले शैलेशकुमार साह र उपप्रमुखमा सरितादेवी यादव सिपालियालाई नै उम्मेदवार बनायो । तर प्रमुखमा उम्मेदवार बनेका साहलाई १६१ मतले पराजित गर्दै जनमत पार्टीका माझी निर्वाचित भए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार