माडीको मेयरमा एमालेकी तारा र उपमेयरमा कांग्रेसका खेम विजयी

चितवनको माडी नगरपालिकाको मेयर पदमा नेकपा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् । ताराले सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेलाई पराजित गरेकी हुन् ।

माडीका निर्वाचन अधिकृत चुडामणि शर्मा गौतमका अनुसार ताराले ९ हजार ९०१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी ऋषिराम काफ्लेले सात हजार ७२९ मत ल्याए । ताराकुमारी काजी महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन् ।

यस्तै उपमेयर पदमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खेमराज महतो विजयी भए । महतोले ६ हजार ८३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन पौडेलले पाँच हजार १०४ र स्वतन्त्र उम्मेद्वार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याएको निर्वाचन अधिकृत चुडामणि शर्माले जानकारी दिए ।

माडीमा मेयर उपमेयर पदमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार