बाग्लुङमा ५ दलीय गठबन्धनका विरुद्ध बागी हालेका उम्मेदवारको प्यानलै विजयी

बाग्लुङमा गठबन्धन विरुद्ध बागि हालेका स्वतन्त्र उम्मेदवारको प्यानलै विजय भएको छ । बाग्लुङ नगरपालिका वडा नः १२ मा काँग्रेस माओवादी केन्द्र र नेकपा एसको संयुक्त गठबन्धनका विरुद्ध बागीस्वरुप स्वतन्त्र उम्मेदवारी दिएको वडाध्यक्षसहितको पुरै प्यानल विजयी भएको हो ।

सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रिय जनमोर्चालाई परेको वडामा काँग्रेसले प्यानलसहित बागि हालेको थियो । ५ दलका आधिकारिक भनिएका जनमोर्चाका लोकनाथ शर्माबिरुद्ध बागि हालेका काँग्रेसका कोपिलामणी शर्मा १३३८ मत ल्याएर वडाध्यक्ष बनेका छन भने उनिसँगै मुडा चिन्ह लिएर मैदानमा उत्रिएका चारैजना सदस्य समेत विजयी हुदाँ ५ दलको आधिकारिक भनिएका शर्माले १७८ मतमात्रै प्राप्त गरेका छन ।

यस्तै ५ दलका विरुद्ध एक्लै एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका गुरु प्रसाद पाठकले ८०१  मत प्राप्त गरेका छन । केन्द्रदेखिकै निर्णय भन्दै बाग्लुङमा पनि सत्ता गठबन्धनमा रहेका ५ वटै दल संयुक्त चुनावी मैदानमा थिए । जिल्लाका पालिकामध्ये बाग्लुङमा मेयर काँग्रेस उपमेयर माओवादी केन्द्र र वडा नः १२ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिने सहमति बनेपनि काँग्रेसले जनमोर्चाको उम्मेदवारलाई अस्विकार गर्ने भन्दै स्वतन्त्र रुपमा प्यानलै बनाएर मैदानमा आएको थियोे ।

५ दलीय गठबन्धनका आधिकारिक उम्मेदवारका रुपमा मैदान आएर पनि १ सय ७८ मतमात्रै पाएका राष्ट्रिय जनमोर्चाका शर्मा शिक्षामन्त्री देवेन्द्र पौडेलका दाजुसमेत हुन । स्थनीय मृगेन्द्र ढकाल लगायतको योजना अनुसार ५ दलीय गठबन्धनलाई अस्विकार गर्ने भन्दै प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका शर्माले ५ दलको संयुक्त गठबन्धन र एमालेको गढको रुपमा चिनिने वार्डमा विजय हासिल गरेपछि अहिले बाग्लुङको राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

गठबन्धनको आधिकारिक उम्मेदवार भनिएका लोकनाथ शर्माले सर्मनाक पराजयपछि स्थानीय नेता कार्यकर्ताबीच विभिन्न तर्क विर्तक शुरु भएपनि राष्ट्रिय जनमोर्चाले भने अहिलेसम्म मुख खोलेको छैन ।

गठबन्धन बनाएरै चुनावमा होमिएपनि काँग्रेसले नमान्ने भनेपछि गठबन्धनमा सहभागि कुनै पनि दल आधिकारिक उम्मेदवारका पक्षमा गठबन्धनको तर्फबाट कुनैपनि चुनावी कार्यक्रम समेत भएको थिएन ।

रोचक त यो छ गठबन्धनको निर्णय प्रभावकारी रुपमा कार्यन्वयन गराउने भन्दै सोही वडामा माओवादी केन्द्रका नेता तथा शिक्षमन्त्री देवेन्द्र पौडेल, नेता दिनानाथ शर्मा, जिल्ला ईन्चार्ज बलावति शर्माले सोही वडाबाट मतदान गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार