किन लाग्छ बढी भोक ?

भोक लाग्नु शरीरको स्वभाविक प्रक्रिया हो । निश्चित समयावधीमा हामीलाई भोक अनुभव हुन्छ । तर, कहिले काहिँ खाना खाए लगत्तै भोक लागेको महसुष हुन्छ ।

यदि त्यसो हो भने, यसले शरीरमा केहि न केहि गडबडी छ भन्ने संकेत गर्छ । अनुसन्धानबाट यो तथ्य बाहिर आएको छ कि केही खास कारणले हामीलाई बारम्बार भोक लागिरहन्छ । हामी ती कारणहरु पत्ता लगाउनुको साटो बारम्बार खाइरहन्छौं । यसले गर्दा समस्या समाधान हुनुको साटो झन् बढ्छ । आखिर के हुन् त भोक लागिरहनुका कारण ?

१.पर्याप्त पानी नखानु
पानी भोक शान्त गर्ने एकदमै राम्रो साधन हो । पर्याप्त मात्रामा पानी नपाउँदा शरीर डिहाइड्रेटेड हुन्छ । कतिपय मानिस शरीर डिहाइड्रेटेड भएको बुझ्दैनन् र बढी खानेकुरा खान्छन् ।

२.प्रोटिन र फाइबरको कमी
हामीले गर्ने भोजनमा प्रोटिन र फाइबरको कमी भयो भने जतिखेर पनि भोक लागेको महसुस हुन्छ । प्रोटिन र फाइबरयुक्त भोजनले भोक शान्त पार्छ ।

३.पर्याप्त क्यालोरी नलिनु
शरीरलाई सन्तुलित आहारको आवश्यकता हुन्छ। फिगर कन्सस महिलाले कम क्यालोरी भएको खाना खान मन पराउँछन् । यस्तो खाना शरीरका लागि हानिकारक हुन्छ। क्यालोरीरहित खाना खाँदा भोक लागिरहन्छ ।

४.कम सुत्नु
सात–आठ घण्टाको निद्राले शरीरलाई स्वस्थ र ऊर्जावान् बनाउँछ । निद्रा पुगेन भने शरीर थाकेको जस्तो हुन्छ । थकान मेटाउन ऊर्जाको आवश्यकता पर्छ । जो भोजनबाट पाउन सकिन्छ । ऊर्जा नहुँदा पनि पटक–पटक भोक लाग्छ ।

५.बिहान खाजा नखानु
बिहानको खाजामा प्रोटिनयुक्त खाद्य पदार्थ छैन भने पनि बारम्बार भोक लागिराख्छ ।

६.हतारिएर खानु
छिटो–छिटो खानेहरूलाई पनि निरन्तर भोक लाग्ने समस्याले सताउँछ । खाना बिस्तारै चपाई–चपाई खानुपर्छ । यसो गर्दा खाना पेटमा राम्ररी पच्छ र त्यसमा भएका पोषक तत्व‍ले शरीरलाई ऊर्जावान् बनाउँछ ।

७.अन्य कारण
पटक–पटक भोक लाग्नु मधुमेह जस्ता रोगको सुरुवाती चरण पनि हुनसक्छ । यसो हुँदा तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार