अध्यागमन विभागको एउटा निर्णयले विदेशी लगानीमा सञ्चालित उद्योग बन्द हुने अवस्थामा

सरकारले वैदेशिक लगानी चाहियो भनेर बारम्बार भनिरहेको छ, सरकारले यस सम्बन्धी सभा सम्मेलन गरिरहन्छ । वैदेशिक लगानी भित्र्याउन राज्यले विभिन्न ऐन कानुनहरू बनाइसकेको र त्यस कानुनको आधारमा सहजीकरण गर्ने प्रतिबद्धता जनाइरहेको छ । तर सरकारको एउटा निकाय अध्यागमन विभागले गरेको एक निर्णयले प्रत्यक्ष वैदेशिक लगानीमा देशभित्रै चलिरहेको एउटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ ।
विभागले भिसाको विषयलाई लिएर गरेको निर्णयका कारण चिनियाँ नागरिक चाङ सिङ्चोङले नवलपरासी (सुस्ता पश्चिम) जिल्लाको बर्दघाटमा ५ वर्षदेखि चलाइरहेको गणपति इट्टा उद्योग बन्द हुने स्थितिमा पुगेको हो । यदि उक्त उद्योग बन्द भए ४०–५० जना कामदारहरूको रोजगारी साथै उद्योगको लगानी तथा प्रविधि गुम्ने उद्योग व्यवस्थापनले जनाएको छ ।
गत वर्ष कोभिड (कोरोना) का कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द रहेको समयमा अध्यागमन विभागले उद्योगको मुख्य लगानीकर्ता चाङ र उनकी श्रीमती वाङ साईसियुको भिसाको अवधि सन् २०२० जुलाई ९ तारिखसम्म मात्र दिएको थियो । नेपालमा ओभर स्टे (लामो समय) बसेको भन्दै लकडाउनकै समयमा विभागले नेपाल छाडेर चीन फर्किनु पर्ने र एक वर्ष नेपाल आउन नपाउने भनेर निर्णय गरेको थियो । विभागको उक्त निर्णयले वैदेशिक लगानीमा सञ्चालित गणपति इट्टा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ । यसअघिका महानिर्देशक रमेश कुमार केसीले नै उनीहरूलाई चीन फर्काउन निर्णय गरेका थिए ।
‘यदि लगानीकर्ता चाङ र उनकी श्रीमती चीन फर्किनु प(यो भने यहाँ चलिरहेको उद्योग बन्द गरेर हिँड्नुपर्ने अवस्था आउन सक्छ’ उद्योगका व्यवस्थापक सुनिल मगर भन्छन्, ‘हामीले अध्यागमन विभागले गरेको उक्त निर्णय पुनर्विचार गरियोस् भनेर उद्योग विभाग (एकल विन्दु सेवा केन्द्र), गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएका छौं । दुवै जनाको पासपोर्ट अध्यागमन विभागले नियन्त्रणमा राखेको छ । हामीलाई दिएको छैन ।’
‘अहिले सरुवा भएर आएका महानिर्देशक नारायण प्रसाद भट्टराईलाई समेत यो विषयमा पुनर्विचार गरिदिन उद्योग व्यवस्थापनले आग्रह गरेको छ तर सुनुवाइ हुन सकेको छैन, उनले भने, ‘यहाँ यस्ता धेरै चाइनिजहरू ओभर स्टे भएर बसिरहेका छन् । हामीले सुने अनुसार विभागमा सेटिङ गरेर पैसा खुवाउन सक्यो भने भिसा अपडेट हुन्छ रे तर हाम्रा लगानीकर्ताहरूले राज्यलाई कर तिरेर उद्योग व्यवसाय गरेर बसिरहँदा उल्टै समस्यामाथि समस्या भोग्नु परिरहेको छ ।’
‘भिसा सम्बन्धी समस्या नेपाली व्यावसायिक साझेदारका कारण उत्पन्न भएको हो ।’ उद्योगका व्यवस्थापक मगरले भने, ‘हामीले नचाहँदा नचाहँदै पटक पटक लाखौँ रुपैयाँ जरिवाना तिरेर अध्यागमन विभागमा भिसा अपडेट गरि राख्यौँ । नेपाली साझेदारले कम्पनी अद्यावधिक नगरिदिएको र कर सम्बन्धी विवाद उठेका कारण आज यो स्थिति आएको हो ।’
‘नेपाली साझेदारका कारण कम्पनीको विषयमा विवाद हुँदै आइरहेकोले भिसा लगाउन समेत समस्या भएको अवस्थामा ओभर स्टे बस्नुपर्ने, जरिवाना तिर्दै निश्चित अवधिका लागि टुरिस्ट भिसा लिनुपर्ने र यस बिचमा कोभिड–१९ का कारणले समेत भिसाको म्याद बढाउन नसकिएको लगायतका समस्याले जरिवाना विलम्ब शुल्क तिरी भिसा अपडेट गराई राखेको मगरले बताए ।
नेपाली साझेदार व्यक्ति सन्दीप अधिकारीसँग साझेदारीमा मिलेर चाङले उक्त इट्टा उद्योग चलाएका हुन् । सुरुका दिनहरूमा राम्रैसँग सञ्चालन हुँदै आएको यस इट्टा उद्योग मिति २०७५ सालबाट नेपाली साझेदारसँग विवाद भई उद्योगको हिसाब किताब बिग्रँदै गइरहेको, नेपाली साझेदारले डकुमेन्ट तथा कागजपत्रमा हस्ताक्षर नगरिदिनाले अडिट रिपोर्ट लगायत कर सम्बन्धी विवाद भएको जस्ता समस्याका कारण कम्पनीको अपडेट हुन नपाएकोले व्यावसायिक (बिजनेस) भिसाको समस्या आएको व्यवस्थापनले जनाएको छ ।
चाङ सिङ्चोङले चीनमा रहेको आफ्नो कम्पनी रोङचङ सिटी हङ युन डेकोरेशन इन्जिनियरिङ लिमिटेडबाट नेपालमा वैदेशिक लगानी ल्याएका थिए । उक्त कम्पनीले नेपालमा चालु रहेको गणपति इट्टा उद्योगमा मिति २०७३(१(१५ मा विदेशी लगानी स्वीकृति गराई नेपाली साझेदार सन्दीप अधिकारीसँग मिलेर उद्योग चलाइरहेको छ ।
यसअघि चिनियाँ लगानीकर्ता र अधिकारीबिच कम्पनीको विषयमा विवाद भएर अद्यावधिक हुन नसकिरहेको उक्त उद्योगको सबै हिसाब किताब तथा कर फर फारक भई नेपाली पक्षमा शेयर समेत मुख्य लगानीकर्ता चाङले खरिद गरी आफ्नो नाममा पूर्ण स्वामित्वको उद्योग बनाइसकेका छन् । वैदेशिक लगानीको उक्त उद्योग हाल कम्पनी रजिस्ट्रारको कार्यालयबाट शेयर लगत अद्यावधिक भइसकेको छ ।
Loading...