लगातारको आक्रमणपछि नाइजेरियामा ६५ हजार मानिस विस्थापित

विद्रोही जिहादी समूहको लगातारको आक्रमणका कारण नाइजेरियामा ६५ हजार मानिस विस्थापित भएका छन् ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने दमासाकबाट उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।स्वघोषित इस्लामिक स्टेटका लडाकूहरूले यही हप्ता मात्रै बोर्नो राज्यमा तीन पटक आक्रमण गरेका थिए ।

उनीहरूले सुरक्षाकर्मीहरूलाई आक्रमण गर्ने, घर तथा राष्ट्रसंघीय कार्यालयहरूमा आगजनी गर्ने गरेका छन् भने कम्तीमा १२ जनाको हत्या गरेका छन् । नाइजेरियामा सबैभन्दा पछिल्लो हिंसात्मक घटना गत बुधबार भएको थियो । उक्त घटनामा उनीहरूले सुरक्षाकर्मीहरूमाथि व्यापक आक्रमण गरेका थिए ।

“सबैभन्दा पछिल्लो आक्रमणको घटना यही अप्रिल १४ तारिखका दिन भएको थियो, यो घटना पछिल्लो सात दिन भित्र भएको तेस्रो घटना थियो,” संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयका प्रवक्ता बाबार बालोचले भने ।

उनले गाउँका झण्डै ८० प्रतिशत मानिस आन्तरिक रूपमा विस्थापित भएको पत्रकारहरूलाई जानकारी दिए । बस्दै आएको ठाउँमा बस्न नसकेर विस्थापित भएकाहरू क्षेत्रीय राजधानी मैदुगुरी र त्यस वरपरका अन्य ठाउँहरूमा गएका छन् ।

“नाइजेरियाको वोर्नो प्रदेशमा मानिसहरुलाई असुरक्षासँगै धेरै चुनौतीहरू बढ्दै गएपछि उनीहरु विस्थापित हुन बाध्य भएका हुन्,” उनले भने । आक्रमणकारीहरूका कारण धेरै मानिसले अस्थायी रुपमा विस्थापित हुनुको विकल्प नरहेको अधिकारीहरूले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार