नोबेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप

विद्यार्थीले गरे कलेज तोडफोड

एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच आइतबार नोबेल मेडिकल कलेजमा झडप भएको छ ।

झडपका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगतसहित केही विद्यार्थी घाइते भएका छन् । भगतको टाउकोमा चोट लागेको छ ।

सो क्रममा विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् । नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

विद्यार्थीहरूले कलेजमा अनशन बस्‍न आएपछि सुरूमा कलेजको प्रवेशद्वारमा नै औषधि व्यवसायीहरूले गरिखान देऊ भन्दै आन्दोलनमा उत्रेका थिए । विद्यार्थीको हुल देखेपछि व्यवसायीहरू पछि हटेका थिए ।

विद्यार्थीहरू कलेजमा प्रवेश गरेपछि कलेजका कर्मचारीहरूले पनि रोजगारी गर्न देऊ भन्दै विद्यार्थीविरूद्ध आन्दोलनमा उत्रेका थिए ।

कर्मचारीहरूसँग विद्यार्थी नेताहरूले वार्ता गरेर अनशन बस्‍न लागेको बेला भाटा लिएर तयारी अवस्थामा बसेका सुरक्षा गार्डले विद्यार्थीहरुमाथि खनिएका थिए । सुरक्षा गार्डहरुले कुटपिट गर्न थालेपछि विद्यार्थीहरू प्रतिकारमा उत्रिएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । अहिले कलेज परिसरमा विद्यार्थीहरूले नाराबाजी गरिरहेका छन् ।

कलेजले अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीहरुलाई प्रवेशमा रोक लगाउँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार