कर्णालीका आठ जिल्लामा सहुलियत पसल सञ्चालन

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीका मुगु र डोल्पाबाहेक सबै जिल्लामा दशैँ–तिहार लक्षित सहुलियत पसल सञ्चालन गरेको छ ।

उपभोक्तालाई खाद्य वस्तुको सहज वितरण गर्न र मूल्यमा छुट दिने उद्देश्यले कम्पनीले सहुलियत पसल सञ्चालन गरेको हो । डोल्पा र मुगुमा मौज्दात चामल कम भएकाले तत्काल सहुलियत पसल सञ्चालन नगरेको कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । ती जिल्लामा चामल ढुवानीका लागि बोलपत्र आह्वान भइसकेको छ ।

कम्पनीका प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले बिक्री केन्द्रमा चामल र दालमा प्रतिकेजी रु पाँच छुट दिएको बताए । “यहाँ चामल किन्दा उपभोक्तालाई प्रतिक्विन्टल रु ५०० सस्तो पर्छ, सुर्खेतमा अनलाइन अर्डरका आधारमा निःशुल्क डेलिभरीको व्यवस्था मिलाएका छौँ”, उनले भने, “महँगीको मारमा रहेका उपभोक्ताले सहुलियतको पसलबाट धेरै राहत महसुस गरेका छन् ।” सहुलियत पसलमा एक जना उपभोक्ताले अधिकतम एक क्विन्टल चामल खरिद गर्न पाउँछन् ।

कम्पनीले सुर्खेत बिक्री केन्द्रमा तीन÷तीन किसिमका चामल र दाल बिक्री गरिरहेको छ । अरुवा मोटो, अरुवा सोना मन्सुली र स्टिम जिरा मसिनो चामल तथा दालमा रहर, मास र मसुरो बिक्रीका लागि राखिएको छ । कम्पनीका अनुसार अरुवा मोटो चामल प्रतिक्विन्टल रु चार हजार १००, अरुवा सोना मनसुली प्रतिक्विन्टल रु चार हजार ४७० र स्टिम जिरा मसिनो चामलप्रति क्विन्टल रु पाँच हजार ९०० मा बिक्री गरिएको छ । कार्यालय प्रमुख मिश्रले यसअघि निर्धारित मूल्यभन्दा प्रतिक्विन्टल रु ५०० सस्तोमा बिक्री गर्ने गरिएको बताए । प्रादेशिक कार्यालयको गोदाममा हाल करिब १० हजार क्विन्टल चामल मौज्दात छ ।

कम्पनीका लेखा सहायक विनोद पौडेलले सहुलियत मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको जानकारी दिए । यहाँ दैनिक सरदर ४० क्विन्टल चामल बिक्री हुने गरेको छ । उनका अनुसार कम्पनीले यस पटक जुम्ली मार्सी चामल बिक्री गर्ने योजना बनाएको थियो । दुई सय क्विन्टल मार्सी खरिदका लागि बोलपत्र आह्वान गरे पनि स्थानीय बजारमा मार्सी उपलब्ध नहुँदा ठेक्का नै नपरेपछि अन्ततः बोलपत्र रद्द गरिएको थियो ।

यसैबीच साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेत शाखाले पनि मङ्गलबारदेखि सहुलियत मूल्यको नुन बिक्री गर्न सुरु गरेको छ । साल्ट ट्रेडिङले प्रतिकेजी रु २० मूल्यको नुनमा रु दुई छुट दिएको छ । चिनी अभावका कारण साल्ट ट्रेडिङले यस पटक नुन मात्र बिक्री खुला गरेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार