पाहा खोज्न गएका दुई युवकको लडेर मृत्यु

मकवानपुरको जङ्गलमा पाहा (भ्यागुता प्रजातिको जीव) खोज्न गएका दुई युवकको लडेर मृत्यु भएको छ । भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङको मंगलबार राति लडेर मृत्यु भएको हो ।

पर्याप्त पाहा पाउने धुन्धुरे खोलाको उचाइबाट चिप्लिएर लड्दा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयइश्वर रिमालले बताए । धुन्धुरे खोलाको भीरको उचाइ ११० मिटर रहेको बताइएको छ ।

खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल गएको र मुचुल्का उठाउने काम भइरहेका उनले बताए । धुन्धुरे खोलाबाट आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी भइरहेको उनले बताए ।

दीर्घ रोगहरुबाट मुक्त हुन पाहाको शिकार गरी मासु खाने चलन मकवानपुरका पहाडी बस्तीहरूमा छ । कैलाश, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ लगायत गाउँपालिकाहरुमा पाहाको शिकार हुने गरेको छ । रातमा मात्रै आहाराका लागि खोँचहरुबाट निस्कने पाहाको शिकारका लागि मानिसहरु जङ्गल जाने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार