कांग्रेसलाई एमालेका पौडेलको आग्रह : विरोध होइन, नीति तथा कार्यक्रमको ताली पिटेर समर्थन गर्नुस्

नेकपा एमालेले सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा सहभागी हुन प्रतिपक्षमा रहेका दलहरुलाई आग्रह गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीकै बीच एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले उनीहरुलाई पनि छलफलमा सहभागी हुन आग्रह गरेका हुन् ।

पौडेलले आउँदो वर्षको नीति तथा कार्यक्रम संसद्‌मा वेल घेरेर नाराबजी गर्नुपर्ने प्रकृतिको नरहेको टिप्पणी गरेका छन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

“सरकारको नीति तथा कार्यक्रम यति राम्रो छ कि प्रतिपक्षमा रहेका मानीनय सदस्यहरूले वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर छलफलमा सहभागी भएर समर्थन गर्नुपर्ने प्रकृतिको छ,” उनले भने ।

उनले छलफलमा सहभागी भएको भन्दै सांसदहरु चित्रबहादुर केसी र प्रेम सुवालप्रति आभार व्यक्त गरे । सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको पनि उनले बताए । “संशोधन प्रस्ताव प्रस्तुत गरेर छलफलमा सहभागी भएर वास्तावमा संसद्भित्र जुन प्रकारको गतिरोध पैदा गर्ने कोसिस भइरहेको छ, त्यसप्रति असहमति जनाउनुहुने र नीति तथा कार्यक्रममाथिको छलफल निर्बाध अगाडि बढ्नुपर्छ भनेर योगदान गर्नुहुने माननीयहरू चित्रबहादुर केसी र प्रेम सुवालप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु,” उनले भने ।

उनले नीति तथा कार्यक्रमप्रति समर्थन पनि जनाए । यसले देशका आर्थिक सामाजिक क्षेत्रका समस्या चिनेको, समयोचित दृष्टिकोण अघिसारेकाले समर्थनयोग्य रहेको बताए ।

यो नीति तथा कार्यक्रमले १६औँ योजनालाई अनुसरण, दिगो विकास लक्ष्य पछ्याउने कोसिस गरेको बताए । सर्वोपरी रुपमा सरकारमा सहभागी दलको तर्फबाट सरकारको नीति तथा कार्यक्रम समग्रतामा सही दृष्टिकोणमा अघि आएको बताए ।

यसले अहिले आम नागरिकको निराशा चिर्ने पनि उनले दाबी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार