टीओआर टुंग्याउन आज देउवासहित शीर्ष नेताहरूको बैठक बस्दै

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बारे कार्यदलले जुटाएको सहमतिलाई अन्तिम रूप दिन आज फेरि शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्था र कम्पनी (गोरखा मिडिया) को नाम उल्लेख गर्ने लगभग सहमति भएको छ ।

हिजो शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी रहेका थिए । शनिबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिएनन् ।

त्यसैले आज पुनः सभापति देउवासहित शीर्ष नेताहरूबीच छलफल हुने नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले जानकारी दिए ।

सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्‍याउने बाँकी काम शीर्ष नेताबीचको बैठकले गर्ने बताए । उनले भने, “सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।”

त्यसअघि समितिको कार्यदेश कस्तो हुने भन्नेबारे कार्यदलमा सहमति भएको थियो । छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने विषयमा कार्यदलका सदस्यहरु सहमतिमा पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार