बागमतीमा तीनदिन गणतन्त्र दिवस मनाइने

गणतन्त्र दिवस २०८१ को अवसरमा बागमती प्रदेशमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ । बागमती प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो ।

जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको शुक्रबार पत्रकार सम्मेलन गरेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा, सभामुख, मन्त्रीहरु, उपसभामुख, विपक्षी दलका नेता, विषयगत समितिका सभापति, संवैधानिक निकायका प्रमुख, कर्मचारी र सुरक्षा निकायका प्रमुख सम्मिलित ४२ सदस्यीय मूल समारोह समिति गठन गरिएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

गणतन्त्र दिवसका अवसरमा जेठ १३ गते सामाजिक विकास मन्त्रालयले गणतन्त्र दिवस सम्बन्धी विषयमा विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने र युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदले मैत्रीपूर्ण खेलकुद कार्यक्रम गर्ने भएका छन् ।

यस्तै, जेठ १४ गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रम, वन तथा वातावरण मन्त्रालयले वृक्षारोपण, सञ्चार रजिष्ट्रारको कार्यालयले प्रदेश सरकारको लगानीमा निर्मित लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन साँझ ५ बजे नारायणी मलको चलचित्र घरमा गर्ने कार्यक्रम राखिएको छ ।

१५ गते गणतन्त्र दिवसको अवसरमा सम्बन्धित मन्त्रालय–कार्यालयहरुले आफ्नो परिसर सरसफाइ, प्रभातफेरी र मूल समारोहमा शैक्षिक संस्थाबाट शिक्षक तथा विद्यार्थीको सहभागिताका लागि हेटौँडा उपमहानगरपालिका मार्फत समन्वय गर्ने निर्णय भएको छ ।

हेटौंडाको भुटनदेवी माविको चौरमा भेला भई स्कुल रोड–बुद्धचोक–चौकिटोल–मानस चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा व्याण्ड बाजासहितको प्रभातफेरी गरिने छ ।

गणतन्त्र दिवसको अवसरमा गणतन्त्र प्राप्तिका लागि सहिद भएका परिवारका सदस्यलाई सम्मान, पत्रकारहरूलाई पुरस्कार र साँझ प्रदेशस्थित सबै मन्त्रालयहरू मातहतका जिल्लास्थित कार्यालयहरू, सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा सार्वजनिक निकायले दीपावली गरी गणतन्त्र दिवस मनाउने तयारी गरीएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार