फुपुकी छोरीको हत्या गरेर भारत भागेका समर ९ वर्षपछि पक्राउ

नौ वर्षअघि काठमाडौंमा भएको एक हत्या घटनाका आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको कुहु गाविस–५ का ४७ वर्षीय समर बहादुर सार्की रहेका छन् ।

मिति २०७१ कात्तिक १ गते काठमाडौंको सेतिदेवी गाविस –६ तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दीको कुहु गाविस ५ स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को हत्या भएको थियो ।

सुनमायालाई कर्तव्य गरी फरार रहेका समर बहादुरलाई आइतबार काठमाडौ चान्लाखेल एरियाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीमाथि आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त किर्तिपुर पठाइएको छ ।

समरबहादुरले १ कात्तिक २०७१ मा फुपुकी छोरी सुनमायाको हत्या गरी भारत पुगेका थिए । पछिल्लो समय भारतको पन्जाबमा बस्दै आएका उनी नेपाल आएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

सुनमाया जेटिए थिइन् । उनी कीर्तिपुरस्थित कृषि कार्यालयमा काम गर्थिन् । समरबहादुर बुवा गंगाबहादुर तथा सुनमायाका मामा कुष्ट रोग लागेका कारण कृष्ठरोग आरोग्य आश्रममा बस्दै आएका थिए ।

ढुंगे अड्डामा ज्यामी काम गर्ने समरबहादुर घटना हुने अघिल्लो दिन बुवा भेट्न भनेर आरोग्य आश्रममा पुगेका थिए । सोही बेला सुनमाया पनि मामालाई भेट्न भनेर पुगेकी थिइन् ।

त्यतिबेला गंगाबहादुर बाहिर गएकाले उनीहरु दुई जना मात्रै कोठामा थिए । आरोग्य आश्रममा राति सुत्ने क्रममा विभिन्न केटाहरुसँग फोनमा बोलेको भन्दै सुनमाया र समरबीच विवाद भएको सोही क्रममा समरले हत्या गरेको खुलेको एसएसपी राठौरले बताए ।

ठूलो स्वरमा बोलेको भन्दै समरले सुनमायाको मोबाइल समेत फालेकी थिइन् । त्यसपछि विवादले झनै उग्र रुप लिएपछि सुनमायाले हसियाँले प्रहार गर्दा समरको औलामा चोट लागेको थियो । हसियाँ खोस्ने क्रममा सुनमायाले समरको हात समेत टोकिदिएको एसएसपी उनले बताए ।

समरले धकेलेपछि सुनमायाको टाउको खाटमा ठोक्किदा उनी बेहोस भएकी थिइन् । आधा घण्टासम्म पनि सुनमायाको होस नआएसपछि समरले हातले सुनमायाको घाँटी थिचेर हत्या गरेको खुलेको एसएसपी राठौरले बताए ।

हत्यापछि शवलाई शौचालयमा राखेर उनी भारतको सिलोङ्गो भन्ने ठाउँ पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार