कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभाबाट विश्वास मत पाएका छन् ।

कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ ।

मुख्यमन्त्री कँडेललाई माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका ९ र एकीकृत समाजवादीका एक जनाको मत पाएका हुन् ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् । कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको १७ दिनमा बिहीबार कँडेलले विश्वासको मत लिएका हुन् । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा नमिल्दा उनले विश्वासको मत लिन सकेका थिएनन् ।

मंगलबार भएको दुई दलबीचको वार्तापछि मन्त्रालयको भागबन्डाको विषयमा मोटामोटी सहमति भएपछि विश्वासको मत लिने निर्णय गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार