गोरखा २ का मतदातासँग माफी माग्दै बाबुरामले भने- मैले गरेको सहयोगको बदलामा प्रचण्डले अनर्गल झुट र जालझेलको प्रपञ्च रचे

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा आक्रोश पोखेका छन् । उनले आफूले प्रचण्डलाई निस्वार्थ सहयोग गर्दामा पनि उक्त सहयोगको बदलामा प्रचण्डले अनर्गल झुट र जालझेलको प्रपञ्च रचेर अशोभनीय हर्कत गरेको टिप्पणी गरेका छन् ।

प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडेका भट्टराईले कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउने बताए । प्रचण्डलाई गोरखा २ छाड्नु आफ्नो गल्ती भएको भन्दै जनसेवामा समर्पित इमानदार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिचकिचाउनु नहुने तर्क गरेका छन् ।

बाबुरामले सामाजिक सञ्जालमार्फत बिहीबार मतदासासँग माफी माग्दै लेखेका छन्:

कहिलेकाहीं असल मनशाय (good faith) ले गरेको कामको गलत परिणाम आउॅछ। जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुॅदैन ।

मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा-२ बाट उम्मेगवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट,अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।

मैले देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम/दान/दण्ड/भेदको दुष्चक्रमा फस्दै गएको,हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीब्र गतिमा स्खलित हुॅदै गैरहेको, ठूलो जनवलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गैरहेको, जनताका सुशासन र समृद्धिका आकांक्षामा गम्भीर तुषारापत भैरहेको सन्दर्भमा आफु सदन र सरकारमा नगई पार्टी र सडकका मन्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुॅ।

परन्तु निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुॅदै गैरहेको, उल्टै मैले उनलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गैरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र वलिदानलाई उनको सत्तास्वार्थसंग साटेर सत्य निरूपण तथा मेलमिलाप र वेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलवाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टी र मसंग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन ।

मैले असल मनशायले गरेको निर्णयले आम जनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु!

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार