काठमाडौँ आइपुगेका कतारका अमिर थानीले आज के के गर्दैछन् ?

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।

थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । उनको सम्मानमा नेपाल सरकारले आज नेपालभर सार्वजनिक बिदा समेत दिएको छ ।

कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने छन् ।

त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन् । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार