आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ ।

ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।

भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले दुई वर्षभित्रमा काम सक्ने लक्ष्य राखेर विसं २०७८ माघमा उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले काम नसकेपछि आठ महिना ठेक्का म्याद थपिएको आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए ।

अहिलेको जस्तै सुस्त गति कायम रहे थपिएको समयावधिमा पनि आयोजना पूरा हुन मुस्किल हुने उनको भनाइ छ ।

आयोजना प्रमुख सुवेदीका अनुसार ठेक्का सम्झौता भएको १५ महिनापछि अघिल्लो वर्षको वैशाखमा बल्ल निर्माण सुरु भएको थियो । उनले आयोजना प्रगति न्यून देखिनुमा निर्माण कम्पनीको ढिलासुस्ती पनि एउटा कारण रहेको बताए ।

उनले पोखराको चट्टानी जमिनका कारण आयोजनासँग पहिले भएको सुरुङ खन्ने उपकरणले काम नगरेपछि उच्च क्षमताको नयाँ उपकरण ल्याउनुपरेको बताए। अहिले आयोजनासँग सुरुङ खन्ने तीन उपकरण छन् । निर्माण कम्पनीले ५० जनाभन्दा बढी जनशक्तिलाई आयोजनामा खटाएको छ ।

आयोजना प्रमुख सुवेदीले प्राथमिकता तोकेर पोखराका विभिन्न ठाउँमा तार भूमिगत गर्ने काम भइरहेको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारअघिको सडकदेखि सेती पुलसम्म सुरुङ खन्ने र पाइप बिछ्याउने काम भइरहेको छ’, उनले भने, ‘लेकसाइडको गल्ली नं १५, १६ र १७ मा पाइप बिछ्याउने काम भइसकेको छ ।’

सुरुङ निर्माण सकिएपछि पोखरा महानगरपालिका–१० कुँडहरमा रहेको प्राधिकरणको सब–स्टेसन क्षेत्रबाट तार बिछ्याउन सुरु गरिने आयोजनाले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैङ्कचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना प्रमुख सुवेदीले बताए ।

उहाँका अनुसार विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ । पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ ।

पोखरा सहरभरिको तारलाई भूमिगत गर्न पाँच अर्ब बढी बजेट चाहिने आयोजना प्रमुख सुवेदीले बताए । पोखरा र भरतपुरमा तार बिछ्याउन दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लगाइएको थियो । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको हो । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरणले नै गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार