प्राधिकरणको लापरबाहीले कञ्चनपुरमा सात बिघा जमिनको गहुँ जल्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएकोजानकारी दिए ।

‘आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ’, बस्नेतले भने, ‘स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।’

यस्तै कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ । जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो ।

आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ । तेह्र कठ्ठा जमिनमा लगाएको बाली नष्ट भएपछि चौधरीको परिवार पीडामा छ ।

स्थानीयवासीका अनुसार बिजुलीको तार खेतमा लत्रिएका कारण आगलागी भएको हो । आगो स्थानीय बासिन्दा, प्रहरी र टीकापुरको दमकलको सहायतामा निभाइएको थियो ।

यसैगरी, भजनी नगरपालिका वडा नं ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने वेला भएको गहुँमा आगो लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार