हालसम्म १४४ विद्युत् आयोजना निर्माण, १४२ निर्माणाधीन

मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा लगानी गरेपछि ऊर्जा क्षेत्रले फड्को मारेको हो ।

विद्युत् विभागका अनुसार हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको संख्या १४२ पुगेको छ। निर्माणमा जाने तयारीमा रहेका आयोजनाको संख्या पनि उल्लेख्य छ । विभागका अनुसार निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाको संख्या १४४ छ ।

सर्वेक्षण अनुमति लिन आवेदन दिएका, सर्वेक्षण अनुमति लिएका, निर्माण अनुमतिका लागि आवेदन दिएका, निर्माणमा जाने तयारीमा रहेका आयोजनाको संख्या पनि ठूलो छ । प्रसारण लाइन निर्माणका लागि पनि सर्वेक्षण र निर्माण अनुमति लिएका आयोजनाको संख्या उल्लेख्य छ ।

आयोजना निर्माण र निर्माणाधीन अवस्थामा रहे पनि हालसम्म विद्युत् निरीक्षकको व्यवस्था भने गरिएको छैन। विभागले हाल वरिष्ठ डिभिजनल इञ्जिनियर चिरञ्जीवी झालाई प्रमुख विद्युत् निरीक्षकको समेत काम गर्ने जिम्मेवारी मात्रै तोकेको छ । यस्तै, इञ्जिनियर कर्सन महर्जनलाई विद्युत् निरीक्षकका रुपमा खटाएको छ ।

विभागले २४९ आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ। ती आयोजनाको क्षमता ९ हजार ६०१ मेगावाट बराबर छ । विभागले ८३ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ, जसको क्षमता २ हजार ८०८ मेगावाट बराबर छ ।

कुल २६ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति माग गर्दै आवेदन दिएको विभागले बताएको छ । विभिन्न क्षमताका २२८ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार