कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी(साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।

स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ ।

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार