बेलायतमा बसेर करोडौँ ठगी गरेको आरोपमा कानुन व्यवसायी थापाविरुद्ध पक्राउ पुर्जी जारी

भूतपूर्व गोर्खा सैनिकका सन्तानहरूलाई बेलायतको आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानुन व्यवसायी राजु थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बेलायतको खण्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा कार्यालयमा एभरेस्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आएका थापाविरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो । बेलायतमा रहेका थापाविरुद्ध करोडौँ ठगी गरेको अभियोग रहेको छ । भिसा लगाइदिने नाममा करोडौँ ठगी गरेको तथ्य भेटिएपछि थापालाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले पुर्जी जारी गरेको हो ।

जिल्ला अदालत काठमाडौँले बेलायतमा बसेर ठगी गर्ने राजु थापासँगै उनका नेपाली साझेदार समी काछी रोजी श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । ‘फरार प्रतिवादीहरू राजु थापा र समी काछी रोजी श्रेष्ठका नाममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गरी पक्राउ परी आए वा आफै हाजिर हुन आए बयानका लागि इजलाससमक्ष पेस गर्नु, पक्राउ परी नआए वा म्यादभित्र आफै हाजिर हुन पनि नआए ऐ. संहिताको दफा १५ र ६५ बमोजिमका निजका विवरण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत झिकाई रोक्का राखी नियमानुसार गरी पेस गर्नु,’ जिल्ला अदालत काठमाडौँले जारी गरेको पक्राउ पुर्जीमा भनिएको छ ।

अदालतले फागुन २ गते थापा र श्रेष्ठको नाममा पक्राउ पुर्जी जारी गरेको हो । बेलायतमा रहेर कानुन सेवा दिने नाममा भूतपूर्व गोर्खा सैनिकका परिवारलाई ठग्दै आएको प्रमाण अदालतमा पेस भएपछि पुर्जी जारी गरिएको हो । थापाले आफ्नो धन्दाको उजागर हुने भएपछि नेपालमा रहेका बिचौलिया लगाएर भूतपूर्व गोर्खा सैनिक सूर्यकुमार नेम्वाङलाई पक्राउ गराएपछि आफ्नै ठगी धन्दाको पर्दाफास भएको हो । पाँचथरको फिदिम नगरपालिका–४ निवासी नेम्वाङलाई केही समयअघि प्रहरीले पक्राउ गरी अदालतमा पेस गर्दा दोषी ठहर हुने अवस्था नरहेको र ठगीमा थापासहितका व्यक्तिहरू संलग्न रहेको ठहरसहित रिहा गरेको छ । ठगीमा दोषी नदेखिएको भन्दै नेम्वाङलाई रिहा गरेसँगै अदालतले भूतपूर्व गोर्खा सैनिकका सन्तानहरूलाई बेलायतको आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा थापा र नेपाली साझेदार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

बेलायतको लन्डनमा बस्दै आएका नेम्वाङलाई थापाकै डिजाइनमा पक्राउ गराइएको थियो । लन्डनमा बसेर आफ्नो ल फर्ममार्फत केस दर्ता गर्ने शुल्क लिएर पनि थापाले कुनै पक्रिया अघि नबढाउँदा झन्डै ५ सय जना पीडित बनेका छन् । सोही तथ्य खुलेपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार थापामाथि लाहुरेमाथि ठगी र ‘ब्ल्याकमेलिङ’को लामो श्रृखला सञ्चालन गरेको अभियोग छ । यस्तै थापाले पूर्व गोर्खा सैनिक सूर्य नेम्वाङको नाममा किर्ते गर्दै रकम असुली गर्दै आएको तथ्यसमेत भेटिएको छ ।

अदालतले आफ्नै ल फर्ममा काम दिएर नेम्वाङको नाममा भूतपूर्व गोर्खा सैनिकका सन्तानहरूलाई बेलायतको आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने भन्दै रकम असुली गर्ने तर नेम्वाङलाई जानकारी नै नगराई केस हराउने गरेको तथ्य पनि फेला परेको हो । उनलाई यो ठगी धन्दामा नेपालमा रहेका श्रेष्ठ र अर्का बिचौलिया दीपक मास्केले सहयोग गर्दै आएको पाइएको छ । बिचौलिया मास्के नेपालमा बसिरहेको पाइएको छ । मास्के केही समय यता उनी थापाको केस मिलाउन नेपालमा दौडधुप गरिरहेको पाइएको हो । अनुसन्धानको क्रममा फेला परेको तथ्यअनुसार थापाले भूतपूर्व गोर्खा सैनिक नेम्वाङको नाममा थुप्रै जनासँग रकम उठाएको पाइएको छ । बेलायतको नयाँ कानुन अनुसार आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने भन्दै थापाले नेम्वाङको नाममा परिवारका सदस्यसँग रकम उठाएको पाइएको हो ।

लामो समय गोर्खाहरूको अधिकारको लागि सञ्चालित ‘संयुक्त सत्याग्रह सङ्घर्ष समिति’को सह–संयोजक रहेर काम गरेका नेम्वाङलाई ब्रिटिस गोर्खाका परिवारले विश्वास गर्ने गरेको थाह पाएपछि थापाले उहाँको नाम दुरुपयोग गरी रकम असुली गरेको पनि अनुसन्धानले देखाएको हो । आन्दोलन र अभियानकै क्रममा ‘संयुक्त सत्याग्रह सङ्घर्ष समिति’ ले सन २०१७ को नोभेम्बरमा नेम्वाङलाई केस हेर्ने जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी पछि कानुन कारबाहीका लागि थापाले आफ्नो ‘एभरेस्ट सोलिसिटर सोलिसिटर्स’ नामक ल फर्ममा नेम्वाङलाई आबद्ध गराएको र उनको नाम बेचेर थुप्रै जनासँग पैसा लिने तर काम नगर्ने गरेको तथ्य पाइएको हो ।

नेम्वाङले भूतपूर्व गोर्खा सैनिकहरूमाथि आवासीय भिसाको लागि संयोजन गरिदिने काम गरेका थिए । थापाले पैसा लिने तर केस नै दर्ता नगर्ने गरेको थुप्रै घटनापछि नेम्वाङले पीडितहरूले नछाड्ने चेतावनीसहित एभरेस्ट सोलिसिटरबाट अलग भएको अदालतमा पेस भएको कागजातले देखाएको छ । थापाको ल फर्मबाट अलग भएपछि उनको कारण हारेको दर्जनौँ पीडितको पुनः केस गरी जिताइएको थियो । सो घटनापछि भूतपूर्व गोर्खा सैनिकका परिवार थापाको ल फर्ममा जान छाडेपछि सुरुवाती चरनमा रहेको इमेल जो नेपालस्थित कन्सल्टेन्सीमा आउने गरेको थियो, सो इमेलसमेत समी काछी रोजी श्रेष्ठ नदिई अलपत्र पार्ने काम गरेका छन् ।

हामीलाई प्राप्त कागजातअनुसार थापाको ल फर्ममा कार्यरत रहँदा नेम्वाङले आवासीय भिसाको लागि प्रक्रिया मिलाइदिने भन्दै सुरुमा भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारबाट पल्टनका कागजात, राहदानी, इमेल र बैङ्क कार्ड लिने गरेका थिए । समितिले काम गर्ने जिम्मेवारी र शुल्क तोकेर नै नेम्वाङलाई यो कामको जिम्मा दिएकोले कानुनी प्रक्रिया पूरा गर्नका लागि ११ सय पौण्ड शुल्क लिने गरिएको थियो । सोही अनुसार नेम्वाङले शुल्क बताएर कागजात सङ्कलन गरे । तर थापाले समी काछी श्रेष्ठमार्फत दोब्बर भन्दा बढी रकम असुलेको प्रमाणसमेत फेला परेको छ । सो गैरकानूनी धन्दामा थापालाई साथ दिई गोर्खा सत्याग्रह सङ्घर्ष समितिको केही अग्रज व्यक्तिहरूको समेत संलग्नता रहेको प्रमाण फेला परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार