भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पंक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ। पंक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौं उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए।

कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो। त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुई वटा कलहाँस भेटिएका थिए। गर्मी मौसममा निकै माथि उचाइमा उडेर बास बस्ने कलहाँस चरा गत वर्ष नारायणी नदी आसपास क्षेत्रमा चार वटा पाइएको थियो। रूस, साइबेरियालगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आइपुगेको बताउँदै पंक्षीविज्ञ डा कमलराज गोसाईं, सुजन श्रेष्ठ र सूर्यमान श्रेष्ठले हनुमन्तेमा यी चराको तस्वीरसमेत कैद गरेका छन्।

गोसाईंका अनुसार यो चरा चिसो मौसममा बस्न नसक्ने भएकाले चिसो छल्न नेपाल आएको हो। कलहाँस हनुमन्तेमा आएपछि हिमालयन नेचर, वर्ड कन्जरभेसन नेपाल र विश्वकै चराहरूको अवस्थाबारे रेकर्ड राख्ने ई–वर्ड नेपालले अभिलेख गरेको उनले बताए। करिब तीनदेखि चार केजी तौल हुने कलहाँस जाडो छल्न नेपाल आएपछि करिब दुई महिनापछि गन्तव्यतर्फ फर्कने गर्दछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार