चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

चितवनका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२८ का ४८ वर्षीय रणबहादुर बानियाँ र पैदलयात्री भरतपुर महानगरपालिका–१९ कि ३५ वर्षीया सरस्वती गुरुङको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शुक्रबार भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना ५१ प ६४९२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सरस्वती गुरुङको मृत्यु भएको हो ।

गम्भीर घाइते गुरुङको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१८ का ३० वर्षीय आइतसिंह घर्ती र पछाडी सवार उनकी श्रीमती वर्ष २६ की सुशीला घर्ती घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै भरतपुर महानगरपालिका–२८ अन्द्रौलिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार रणबहादुर बानियाँको मृत्यु भएको छ ।

गोलाघाटबाट मेघौलीतर्फ आउँदै गरेको बा प्र–०६–०१प ३४७६ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ का २७ वर्षीय राजन मल्ल घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीलेले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार