नेपालमै पहिलोपटक एकै व्यक्तिको कलेजो र मिर्गौला एकसाथ प्रत्यारोपण

ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको छ । सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको नेपालमै पहिलो पटक कलेजो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक भएको हो ।

उनलाई ३४ वर्षीय श्रीमानले कलेजो र उनकी ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेका थिए । बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) देखिएको थियो । कलेजोका कारणले दुवै मिर्गौला बिग्रिएका थिए ।

मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन् । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको हुन पुगेको थियो । जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालका निर्देशक प्रा. डा सुरज बज्राचार्यले जानकारी दिएका छन् ।

प्रा. डा. बज्राचार्यका अनुसार यो नेपालको इतिहासमै पहिलो पटक गरिएको हो ।

शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको र शल्यक्रिया गर्न १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको बज्राचार्यले बताए ।

वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसियु क्रिटिकल केयर विशेषज्ञ, ब्लडबैंक विशेषज्ञ, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसियलिस्ट फिजिसियन, सर्जन तथा नर्सिङका दक्ष प्राविधिकहरू परिचालन भएका थिए ।

यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्याप्रति १० लाख जनसंख्यामा एक जनामा हुनसक्ने र यसको उपचारसमेत विश्वका केही सीमित अस्पतालमा मात्र हुने गरेको किष्टको दाबी छ । किष्ट शिक्षण अस्पतालमा ११५ जना भन्दा धेरैको अंग प्रत्यारोपण शल्यक्रिया गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार