सन् २०२५ को डिभी खुला, कात्तिक २१ गतेसम्म भर्न सकिने

अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन आज रातिबाट खुला भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ का लागि नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डिभी भर्न सकिनेछ । आज रातिबाट खुल्ने डिभी कात्तिक २९ गते राति १०ः४५ बजे बन्द हुने दूतावासले जनाएको छ । 

डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । त्यस्तै, डिभी भर्दा विवाहितले दम्पतीको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम लगाएको छ ।

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी :
• आवेदन नि:शुल्क : डि.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन ।

• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ बिचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।

• फारम अनलाइन भर्नुपर्ने : सन् २०२५ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/  मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । कृपया ध्यान दिनुहोला : फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

• राहदानी : अघिल्ला वर्षहरूमा अमेरिकी विदेश मन्त्रालयले आवेदकहरूलाई डि.भी. आवेदन भर्दाको समयमा आफ्नो वैध र म्याद बाँकी रहेको राहदानीमा भएको जानकारी उपलब्ध गराउन निर्देशित गर्दथ्यो । हाल आएर आफ्नो डि. भी. आवेदन भर्दाको समयमा आवेदकहरूसँग म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य छैन ।

• आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

• आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस् ।

• तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ४ , २०२४  (२०८१  वैशाख २२ ) वा त्यसपछि https://dvprogram.state.gov/  मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रवेश गर्नु हो ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।

डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारी https://dvprogram.state.gov/ वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/ मा उपलब्ध छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार