शुल्क विवादका कारण इन्जिनियरिङ संस्थानले दोस्रोपटक स्थगित गर्‍यो प्रवेश परीक्षा

त्रिभुवन विश्वविद्यालयको सिभिल र आर्किटेक्चर इन्जिनियरिङको प्रवेश परीक्षा दोस्रोपटक स्थगित भएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बुधबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि प्रवेश परीक्षा स्थगित गरेको जनाएको छ ।

आईओई डिनको कार्यालयले असोज १५ गते सूचना जारी गर्दै असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन हुने जानकारी गराएको थियो । बुधबार प्रकाशित सूचनामा भने प्रवेश परीक्षा बोर्डका पदाधिकारीले सामूहिक राजीनामा दिएका कारण परीक्षा स्थगित उल्लेख छ ।

यसअघि भदौ १९ गतेदेखि हुने भनिएको परीक्षा पनि आईओईले भर्ना शुल्कबारे विवाद भएको भन्दै शुल्क समायोजन लागि भन्दै भदौ ९ गते सूचना जारी गरेर स्थगित गरेको थियो ।

यही शैक्षिक सत्रदेखि बी.ई र बी.आर्कको शुल्क वृद्धि गर्ने निर्णयपछि स्वतन्त्र विद्यार्थी युनियन र आईओईबीच भदौयता पटक पटक विवाद हुँदै आएको छ ।

यही शैक्षिक सत्रदेखि चारवर्षे बी.ई र बी आर्क अध्ययनको पूर्ण शुल्क सात लाख ७७ हजार ४२० रुपैयाँ पु-याउने आइओइको निर्णय थियो । जुन शुल्क यसअघि तीन लाख १८ हजार रुपैयाँ थियो ।

यसबीचमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरूसँग पुरानै शुल्कमा भर्ना लिने डिन कार्यालयको सहमति भएपनि अहिले आईओई पुरानो शुल्कमा भर्ना गर्न तयार छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार