बझाङ भूकम्प: अस्पताल प्राङ्गणमै सुत्केरी गराइयो, घाइते ९ जनाको उपचार हुँदै

बच्चा जन्माउनका लागि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी एक महिलाको अस्पताल प्राङ्गणमा प्रसूति गराइएको छ ।

तल्कोट गाउँपालिका–१ की २० वर्षीया मनिषा ऐरीको अस्पताल प्राङ्गणमा प्रसूति गराइएको हो । प्रसव व्यथाले उनी छट्पटाई रहेको बेला आज भूकम्प गएपछि त्रसित स्वास्थ्यकर्मीले उनलाई अस्पतालको प्राङ्गणमा सारेका थिए । मनिषाको ‘नर्मल डेलिभरी’ भइसकेको अस्पतालका डा. इन्द्र शाहले जानकारी दिए । सुत्केरी र नवजात शिशुलाई बाहिर नै राखिएको छ ।

डा. शाहका अनुसार भूकम्प गएपछि अस्पतालमा उपचाररत सबै बिरामीलाई बाहिर राखिएको थियो । “आधा बिरामी अहिले पनि बाहिरै छन्”, उनले भने ।

यस्तै, भूकम्पले संरचना भत्किँदा घाइते भएकाहरु पनि उपचारका लागि अस्पतालमा भर्ना हुनेक्रम जारी रहेको छ । अहिलेसम्म ९ जना घाइते भर्ना भइसकेको डा. शाहले जानकारी दिए ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पका कारण भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार