दशैंको टीकाको शुभसाइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टीकासहित विभिन्न साइत सार्वजनिक गरेको छ ।

असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८:२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९:३५ बजे स्थिरासन गराइन्छ ।

कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।

कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०:३७ बजे विसर्जन गरिने साइत छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११:२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार