यार्सा गुम्बा संकलन गर्न वर्षमा एक पटक मात्रै इजाजत दिइने, १६ वर्ष कटेको हुनुपर्ने

सरकारले नयाँ निर्देशिका ल्याएर एक व्यक्तिलाई वर्षमा एक पटक मात्रै यार्सा गुम्बा संकलनको इजाजत दिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्‍ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सा गुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका, २०८० ल्याएर व्यवस्थित बनाउन लागेको हो । मन्त्रालयले प्रस्तावित निर्देशिकाको मस्यौदामा रायरसुझाव मागेको छ।

मस्यौदामा यार्सा गुम्बा संकलनका लागि १६ वर्ष उमेर पार गरेका हुनुपर्ने प्रस्ताव गरेको छ । यार्सा गुम्बा ओसारपसार गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले रीतपूर्वक सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ ।

प्राप्त निवेदन उपर संरक्षक, प्रमुख वा परिषद्‍को अध्यक्षले दफा ३ को उपदफा ९२० बमोजिम प्राप्त संकलन इजाजतपत्रसँग भिडान गरी संकलनको गरेको परिमाण जाँची प्रचलित कानुन बमोजिम दस्तुर लिई सम्बन्‍धित व्यक्ति, फर्म वा कम्पनीलाई यार्सा गुम्बा ओसारपसार गर्न छोडपूर्जी दिन सक्नेछ ।

छोड पूर्जीको अवधि बढीमा ३० दिनको हुनेछ । कुनै कारणवस उक्त अवधिमा ओसारपसार गर्न नसकेमा बढीमा १५ दिन म्याद थप्‍न सकिने उल्लेख छ । यार्सा गुम्बा संकलन अवधि प्रत्येक बैशाखदेखि असार महिनाभित्र बढीमा ३० दिनको हुनेछ ।

संरक्षक, प्रमुख वा परिषद्‍को अध्यक्षको लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले संकलन क्षेत्रमा तोकिएको स्थान बाहेक अन्यत्र टेण्ट वा पाल राख्‍न पाउदैन । ४० माइक्रोनभन्दा कमको प्लाष्टिकजन्य वस्तु लैजान वा प्रयोग गर्न पाइदैन । तोकिएका बाहेक अन्य औजार लैजान पाइदैन। जथाभावी फोहोर फाल्न, आगो बाल्न र खाल्टो खन्‍न पाइने छैन ।

हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सा गुम्बाको संरक्षण, संकलन एवं सदुपयोग गर्ने कार्यालाई सरल र व्यवस्थित बनाउन निर्देशिका ल्याउन लागिएको उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार