समाजवादी मोर्चाको बैठक आज बस्दै

समाजवादी मोर्चाको बैठक अहिले बिहान बस्दै छ ।

आइतबार बस्ने भनिएको बैठक एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक चलिरहेकोले सोमबार बिहान ७ः३० बजेसम्मका लागि स्थगित गरिएको थियो । आजको बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।

आज बस्ने बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने सम्भावना छ । साथै सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । बैठक आइतबार (हिजो) बस्ने भनिए पनि तयारी नपुगेपछि सोमबार बिहानका लागि सारिएको नेताहरुले बताएका छन् ।

मोर्चाको गत असार ३० गते बसेको बैठकले ४–४ महिनामा नेतृत्व फेरिने, मोर्चाको सदस्य सचिव एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल रहने निर्णय गरेको थियो ।

अहिले मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।

नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो ।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार