प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुँदै छ । संसदीय सुनुवाइ समितिले आज श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने र लगत्तै श्रेष्ठसँग पनि छलफल गर्न लागेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० बजे छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तय भएको समितिका सचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र छलफल गर्ने समितिको तयारी छ ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थियो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । २३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार