कोशीमा सभामुखसहित ४७ सांसदको दाबी पेश गर्दै गठबन्धन

कोशी प्रदेशमा सरकार बनाउन गठबन्धन दलसँग राप्रपा सामेल नभए पनि सभामुखलाई जोडेर बहुमत दाबी गर्ने गठबन्धन दलहरूले तयारी गरेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तर्गत रहेर सरकार गठनका लागि दिएको म्याद सकिन लाग्दा गठबन्धन दलले सभामुखलाई समेत जोडेर बहुमत भएको दाबी गर्ने तयारी गरेका हुन् । गठबन्धन दलहरुमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । उनीहरुसँग सभामुखसहित ४७ सांसद मात्रै छन् ।

विश्वासको मत नपाएर हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ ।

राप्रपा गठबन्धनमा नआएपनि सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने तयारी भएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

सहज बहुमतका लागि राप्रपासहितको समर्थन आवश्यक पर्ने भन्दै ती दलका शीर्ष नेताको बैठकले समर्थन जुटाउने जिम्मा नेपाली कांग्रेसलाई नै दिइएको थियो । तर, यसबीचमा राप्रपासँग भएको छलफलले कुनै ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

‘हामीसँग सबै राजनीतिक दलहरुले अनौपचारिक र औपचारिक रुपले कुराकानी गरिराख्नु भएको छ । धेरैजसो अनौपचारिक छलफल नै भएका छन् । कुनै पनि कुराले अहिलेसम्म ठोस आकार लिएको छैन,’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘राप्रपाले अहिले कोशी प्रदेशको सरकार निर्माणको प्रक्रियामा कांग्रेस र एमाले नै मिलेर सरकार बनाउन् भन्ने चाहना राखेको छ । यसमा हामी नपरे हुन्थ्यो भन्ने हामीले सोचेका छौं ।’

ओखलढुङ्गा १(२)बाट माओवादीका तर्फबाट विजयी भएका बाबुराम गौतम सभामुख भएसँगै उनले गएको पुस २८ गतेको कोशी प्रदेश सभाको बैठकमा सभामुख पदमा रहुन्जेलका लागि दलको सदस्यता त्याग गरेको घोषणा गरिसकेका छन् ।

सभामुखले दलको सदस्यता नै त्यागेको अवस्थामा कोशी प्रदेश सभामा माओवादीको १२ मात्रै सदस्य रहने संविधानविद् चन्द्रकान्त ज्ञवालीले बताए ।

एमालेले भने सभामुखलाई समेत जोडेर कोशी प्रदेशमा गठबन्धनले बहुमत सिद्ध गरे एमाले चुप लागेर नबस्ने बताएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले सभामुख गौतमले कोशी प्रदेश सभा समक्ष गएको पुस २८ गते नै दलको सदस्यता परित्याग गरेको घोषणा गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार